विदेशी विनिमय सञ्चिति २५ खर्ब ६९ अर्ब, १४.७ महिनाको आयात धान्न पुग्ने
२४ असार, काठमाडौं । नेपालमा विदेशी विनिमय सञ्चिति २५ खर्ब ६९ अर्ब रुपैयाँ नाघेको छ । २०८१ असार मसान्तसम्म २० खर्ब ४१ अर्ब १० करोड बराबर कुल विदेशी मुद्रा सञ्चिति थियो । ११ महिनामा २५.९ प्रतिशतले बढेर २५ खर्ब ६९ अर्ब पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा जेठ मसान्तमा ५३.२ प्रतिशतले वद्धि भएर २ खर्ब ९४ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २०.५ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८१/८२ को एघार महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.६ महिनाको वस्तु आयात र १४.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४२.१ प्रतिशत, १२२.९ प्रतिशत र ३४.१ प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।
प्रकाशित मिति : २४ असार २०८२, मंगलवार १३:३०










