१८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026

बैंकहरुले अग्राधिकार सेयर जारी गर्न पाउने

२३ असार, काठमाडाैं । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले बैंक तथा वित्तीय संस्थालाई अभिमोच्य तथा असञ्चित अग्राधिकार सेयर जारी गर्न पाउने बाटो खुला गरेको छ । बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँड (नवौं संशोधन) निर्देशिका, २०८२ लागू गर्दै यस्तो व्यवस्था गरेको हो ।

धितोपत्र बोर्डले गरेको व्यवस्था अनुसार नेपाल राष्ट्र बैंकबाट अविमोच्य असंचिति अग्राधिकार सेयर निष्काशनका लागि स्वीकृति पाएको बैंक तथा वित्तीय संस्थाले मात्र यस्तो सेयर निष्काशनका लागि बोर्डमा आवेदन दिन सक्ने निर्देशिकामा उल्लेख छ । सेयर निष्काशन गर्न चाहने बैंक तथा वित्तीय संस्थाले अंकित मूल्य रू. १०० कायम गरी निष्काशन गर्नुपर्नेछ ।

यस्तै सेयर निष्काशन गर्ने बैंक तथा वित्तीय संस्थाले परिपत्र विधिमार्फत ५० जना भन्दा कम हुने गरी संस्थागत लगानीकर्तालाई मात्र निष्काशन गर्न सक्नेछ । निष्काशन हुने सेयरमा सर्वसाधारण लगानीकर्ता, बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी तथा सामूहिक लगानी कोषले लगानी गर्न पाउने छैन ।

यसैगरी निष्काशन गर्दा सम्भावित संस्थागत लगानीकर्तालाई धितोपत्रसम्बन्धी विशेषता सहित जोखिम उद्घोषण विवरण उपलब्ध गराउनुपर्नेछ । साथै, लगानीकर्ताबाट उक्त विवरण पढेको बुझेको भन्ने व्यहोरा खुलाई लिखित रूपमा कागजात समेत निवेदनसाथ संलग्न गर्ने व्यवस्था गर्नुपर्नेछ ।

अविमोच्य असंचिति अग्राधिकार सेयर निष्काशन गर्दा विवरण पत्रमा उल्लेख गर्नुपर्नेः

निष्काशनका लागि तयार गरिएको विवरण पत्रमा देहाय बमोजिमको व्यहोरा समेत उल्लेख गर्नुपर्नेछः–

–अविमोच्य अंसचिति अग्राधिकार शेयरमा लगानी गर्दा जोखिम उद्घोषण विवरणको समेत अध्ययन गरी लगानी सम्बन्धी निर्णय लिन सुझाव गरिन्छ ।

–अविमोच्य असंचिति अग्राधिकार सेयरमा निहित जोखिम र नोक्सानी प्रशोचनका क्रममा हुन सक्ने अपेक्षित प्रक्रिया तथा परिणामहरू उल्लेख गरिएको जोखिम उद्घोषण विवरण संलग्न गर्नुपर्नेछ ।

–विवरणपत्रमा अन्र्तनिहित जोखिम तथा सो व्यवस्थापनको लागि व्यवस्थापनको धारणा अन्तर्गत अविमोच्य असंचिति अग्राधिकार शेयरको लाभांश भुक्तानी तथा परिवर्तनका सम्बन्धमा उत्पन्न हुन सक्ने जोखिम र सोको व्यवस्थापनका लागि व्यवस्थापनको धारणा समेत उल्लेख गर्नुपर्नेछ ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार १७:०२