पार्टीमा निषेधको निषेध लागू हुनै सक्दैनः गोकुल बाँस्कोटा
२२ असार, काठमाडौँ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटाले पार्टीमा निषेधको निषेध लागू हुनै नसक्ने बताउनुभएको छ । आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत छोटो टिप्पणी सार्वजनिक गर्दै पार्टीका सात वटा महाधिवेशन मध्ये एउटा नजिकबाट हेरेको र सुनेको एवं ६ वटामा संलग्न भएको जानकारी दिँदै ती महाधिवेशन के कस्ता भए भन्ने कुरा जगजाहेर रहेको बताउँदै भोलिका लागि केही बाँकी राखेर मात्र प्रतिक्रिया दिन अनुरोध गर्नुभएको छ ।
उहाँले भन्नुभएको छ, ‘०३९-४५,०४७-४९,०५२-०५४,०५८-५९,०६५,०७१ र ०७७-७८ मध्ये एउटा नजिकबाट हेरियो,सुनियो।अरुमा संलग्न भईयो-भोगियो।को कस्ता थिए,कता थिए र छन?त्यो पनि थाहै छ।मेरो भनाई यत्ति छ-केही बाँकी राखेर बोल,ताकि मतान्तर बीच मुस्कुराउदै सगै यात्रा गर्न सकियोस।पार्टीमा निषेधको निषेध लागु हुनै सक्दैन।’
![]()
उहाँले मतान्तरका बीचमा पनि मुस्कुराउँदै यात्रा गर्न सक्नेगरी लाग्नुपर्ने भन्दै पार्टीमा निषेधको निषेध लागु हुनै नसक्ने दाबी गर्नुभएको छ । पछिल्लो समय एमालेमा अध्यक्ष केपी शर्मा ओली र पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीको नाममा नेता कार्यकर्ता विभाजन हुन थालेपछि अध्यक्ष ओली निकटका नेताहरू त्रसिल भएका छन । उनीहरूले बोलीमा समेत लगाम लगाउन सक्ने परिस्थिति छैन ।
प्रकाशित मिति : २२ असार २०८२, आईतवार १८:३९












