८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

गैरकानुनी रूपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न ५२ जना पक्राउ

१९ असार, काठमाडौँ । गैरकानुनी रूपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न रहेको अभियोगमा छ चिनियाँ नागरिकसहित ५२ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले निजहरूलाई ललितपुर महानगरपालिका–४ दमकल चोकस्थित एक घर भाडामा लिएर ‘सोसियल सफ्टवेयर डेभलपमेन्ट कम्पनी’ दर्ता गरी गै कानुनी रूपमा कल सेन्टर तथा मेटो डेटिङ एप सञ्चालन गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।

सो कम्पनीको शाखाका रूपमा काठमाडौँ महानगरपालिका–१३ चागलस्थित एक घर भाडामा लिई विभिन्न नेपाली युवतीलाई प्रलोभनमा पारी डेटिङ एपमार्फत अनलाइन डेटिङ स्क्याम तथा क्रिप्टो कारोबार गरिरहेको अवस्थामा ५२ जना पक्राउ परेका केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । उनीहरूको साथबाट स्रोत नखुलेको रु १३ लाख ९९ हजार ९५०, ल्यापटप सात थान र मोबाइल ५४ थानसमेत बरामद गरिएको प्रहरीको भनाइ छ ।

पक्राउमध्ये छ जना चिनियाँ नागरिकमाथि अभौतिक मुद्रासम्बन्धी मुद्दा दर्ता गरी अन्य ४६ जनामाथि थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार १५:११