सन नेपाल लाइफले असार २३ गतेदेखि अवितरित हकप्रद सेयर बिक्री गर्ने
१५ असार, काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अवितरित हकप्रद सेयर लिलाम प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत वैशाख ३० गतेदेखि असार ३ गतेसम्म १ः०.२७ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको २ लाख २४ हजार ७२८ कित्ता सेयर असार २३ गतेदेखि लिलामीमातर्फ बिक्री गर्न लागेको हो ।
यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । कुल सेयर संख्यामा सर्वसाधारण समूहतर्फको १ लाख ४४ हजार ५०६ कित्ता र संस्थागत समूहतर्फको ८० हजार २२२ कित्ता सेयर रहेको छ ।सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ ।
बोलकबोल पेश गर्दा संस्थागततर्फ न्यूनतम १ हजार कित्ता र सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ता र अधिकतममा भने सम्पूर्ण कित्ताका लागि असार ३० गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले नेपाल एसबीआई मर्चेन्ट बैंकिङ, सन नेपाल लाइफको पुतलीसडक,विराटनगर,विरगञ्ज,पोखरा,बुटवल,नेपालगञ्ज,सुर्खेत र धनगढी शाखा कार्यालयबाट बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।
प्रकाशित मिति : १५ असार २०८२, आईतवार १२:३९












