२४ फाल्गुन २०८२, आईतवार | Sun Mar 8 2026

अनलाइनबाट ठगी गर्ने धादिङका समिरसहित दुई जना पक्राउ

१२ असार, काठमाडौं । अनलाइनबाट ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा धादिङ, थाक्रे गाउँपालिका ५ घर भई काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका ६ बस्ने १९ वर्षका समिर तामाङ र काठमाडौंको गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजल बस्ने १९ वर्षका क्रिस पोखरेल रहेका छन् ।

उनीहरूलाई विदेशको फर्निचर पसलमा लगानी गर्दा फाइदा हुन्छ भन्दै ठगी गरेकाे प्रहरीले जनाएकाे छ । साथै, उनीहरूले सामाजिक सञ्जालमार्फत २३ लाख १५ हजार रुपैयाँ रकम ठगी गर्ने तथा १ करोड ३१ लाख ६२ हजार ६ सय ७५ रुपैयाँ बराबरको अभौतिक मुद्रा (कृप्टो करेन्सी) को कारोबार गरेको जिल्ला प्रहरी परिसर, भद्रकालीले जनाएको छ ।

गेसबुक र टेलिग्राम ग्रुपमार्फत तामाङले एकाउन्टबाट विदेशमा सञ्चालित फर्निचर कम्पनीमा लगानी गर्दा फाइदा हुने तथा अनलाइन जब लगाइदिनेजस्ता कुरा पोष्ट गरी प्रलोभनमा पारेर विभिन्न बैंक खातामा नगद रु. २३लाख १५ हजार जम्मा गर्न लगाई ठगी गरेकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीले उनीहरूलाई माइतिघरबाट नियन्त्रणमा लिएको छ । उनीहरूले १ करोड ३१ लाख ६२ हजार ६७५ रुपैयाँ बराबरको कृप्टो करेन्सीको कारोबार गरेको प्रहरीले जनाएको छ । उनीहरूलाई थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार १८:११