२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

सिरहा नगरपालिकाबाहेकका पालिकाको नीति तथा कार्यक्रम र बजेट पेस

११ असार, सिरहा । यहाँको सिरहा नगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेको छैन । कानुनी व्यवस्थाअनुसार असार १० गतेसम्म ल्याउनैपर्ने बजेट जिल्ला सदरमुकामसमेत रहेको सो नगरपालिकाले नगरसभा गर्न नसक्दा आगामी आवको नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेको हो ।

नगर प्रमुख डा नवीनकुमार यादव अस्वस्थ्य रहेकाले आवश्यक तयारी नपुग्दा बजेट ल्याउन नसकिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहम्मद इद्रिस राइनले जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत राइनका अनुसार केही दिनभित्रै नगर कार्यपालिकाको बैठक बसी नगरसभाको मिति तोकिने छ ।

नीति तथा कार्यक्रम र बजेट ल्याउने पालिकामा जिल्लामै सबैभन्दा ठूलो २४ वडा रहेको लहान नगरपालिकाले रु एक अर्ब ६७ करोड ९५ लाख २८ हजारको बजेट सार्वजनिक गरेको छ । त्यसैगरी गोलबजार नगरपालिकाले रु ८१ करोड ८९ लाख ८९ हजार र मिर्चैया नगरपालिकाले रु ७० करोड ११ लाख ७१ हजारको बजेट ल्याएको छ ।

त्यसैगरी जिल्लाका धनगढीमाई नगरपालिकाले रु ६८ करोड नौ लाख ७४ हजार, कल्याणपुर नगरपालिकाले रु ५८ करोड ३१ लाख ३३ हजार, सुखीपुर नगरपालिकाले रु ६२ करोड ८६ लाख नौ हजार, कर्जन्हा नगरपालिकाले रु ४२ करोड ९१ लाख ११ हजारको आगामी आवको आयव्ययसहितको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् ।

त्यस्तै गाउँपालिकातर्फ अर्नमा गाउँपालिकाले रु ४९ करोड ९६ लाख, सखुवानन्कारकट्टी गाउँपालिकाले रु ३७ करोड ४० लाख चार हजार, औरही गाउँपालिकाले रु ४० करोड ८२ लाख नौ हजार, बरियारपट्टि गाउँपालिकाले रु ४५ करोड ६८ लाख ८१ हजार, विष्णुपुर गाउँपालिकाले ४३ करोड ९४ लाख ५१ हजार, भगवानपुर गाउँपालिकाले रु ४८ करोड ४४ लाख ३१ हजारको बजेट प्रस्तुत गरेका हुन् ।

त्यसैगरी नवराजपुर गाउँपालिकाले रु ४३ करोड ८६ लाख ७५ हजार, लक्ष्मीपुरपतारी गाउँपालिकाले रु ४३ करोड ३४ लाख ५१ हजार र नरहा गाउँपालिकाले रु ३८ करोड ८६ लाख ९५ हजारको बजेट प्रस्तुत गरेका छन् । जिल्लाका पालिकाले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा दलित, विपन्नलाई स्वास्थ्य बिमादेखि दलितलाई नागरिकता बनाउन लाग्ने सम्पूर्ण खर्च पालिकाले बेहोर्नेसम्मका कार्यक्रम रहेका छन् ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार १६:१२