१९ असार २०८१, बुधबार | Wed Jul 3 2024

खाने पानीको मुहानमा विषादी भेटियो, पानी प्रयोगमा गाउँबासीलाई रोक


८ चैत, धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाको खानेपानीको मुहानमा विषको बोतल भेटिएपछि मुहानको पानी प्रयोग गर्न गाउँबासीलाई रोक लगाइएको छ ।

कात्राकमा ल्याइएको पानीको मुहानमा विषादि हालिएको शंका लागेको र पानीमा समेत अनौठो गन्ध आएकाले पानी प्रयोग गर्न रोक लगाइएको वडाध्यक्ष भुवन त्रिपाठीले बताए । प्रहरी अनुसन्धानका क्रममा पानीको मुहानमा लारा ९९० नामको विषादिको बोतल भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी, वडाध्यक्ष त्रिपाठी र प्रहरी निरीक्षक सञ्जय तिमिल्सिनाको टोली पानीको मुहानमा पुगेर स्थलगत अनुगमन गर्दा पानीको गन्ध र देखिएको कणका आधारमा कात्राक खानेपानीको मुहानमा विषादि मिसाइएको शंका गरिएको हो । सो मुहानको पानी ५० घरधुरीले प्रयोग गर्दै आएका छन् ।

अनुसन्धानपछि खानेपानीको मुहानमा विषादी मिसाइएको शंका भएपछि प्रयोगशालाका लागि पानी काठमाडौंँ पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक केसीले बताए ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । “ हामी पनि पानीको मुहान, ट्याङ्की तथा पाइप लाइन सरसफाइ गरेर छिट्टै पानीको समस्या समाधान गर्छाैँ”, गाउँपालिकाका अध्यक्ष डल्लाकोटीले बताए ।

प्रकाशित मिति : ८ चैत्र २०७४, बिहीबार १९:२०