तीन करोड मुनिका योजनालाई निर्ममतापूवर्क कटौती गरियोस्ः सांसद थापा
८ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद सूर्यबहादुर थापाले तीन करोड मुनिका योजनालाई निर्ममतापूवर्क कटौती गर्न आग्रह गर्नुभएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै थापाले यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “राष्ट्रिय योजना आयोगले तीन करोड माथिका योजनाको सिलिङ दिए पनि स–साना टुक्रे योजना समेटिएको छ । तीनकरोड मुनिका योजनालाई निर्ममतापूवर्क कटौती गरियोस् ।” साथै, थापाले कर्णाली प्रदेशको दैलेख जिल्लाको जलजले क्षेत्रमा मिथेन ग्यासको पहिचान भएको र नेपालको आगामी ५० वर्षको खपत धान्ने भण्डारण रहेको विषय सिङ्गो देशका लागि खुशीको विषय भएको बताउनुभयो । दैलेखमा एक खर्ब १२ अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको पत्ता लागेको प्रारम्भिक प्रतिवेदन हालै सार्वजनि भएको थियो ।
सांसद थापाले विगतमा धेरै रकम खर्च गरेर विभिन्न कम्पनीले ग्यास नपाइएको प्रतिवेदनको निष्कर्ष दिएको स्मरण गर्दै पछिल्लो दैलेखमा ग्यास पहिचानको प्रतिवेदनले देशको अर्थतन्त्रलाई बलियो र जनताप्रति आशा जगाउन प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो । बजेट सन्तुलित नभएको र जनप्रतिनिधिहरूको सुझाव नसमेटिएको गुनासो उहाँको थियो ।
प्रकाशित मिति : ८ असार २०८२, आईतवार १४:२२







