१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

महिलालार्इ अोलीको अाग्रह, आरक्षण र संरक्षणमा भन्दा क्षमता र प्रतिष्पर्धामा विश्वास गर्नुस


८ चैत, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाहरुलाई आरक्षण र संरक्षणमा भन्दा क्षमता र प्रतिष्पर्धामा विश्वास गर्न आग्रह गर्नुभएको छ । राष्ट्रिय महिला उद्यमी महासंघले बिहीबार ललितपुरको सानेपामा आयोजना गरेको तेस्रो अन्तराष्ट्रिय महिला उद्यमी व्यापार मेला २०७४ को उद्धघाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो ‘आरक्षण केही समयलाई हो । पछिलाई काम लाग्दैन ।’ अखिल नेपाल महिला संघको अगुवाइमा दशक अघि सुरु भएको ३३ प्रतिशत आरक्षणको उपलब्धी अहिले ४१ प्रतिशतमा पुगेको प्रधानमन्त्री ओलीले बताउनुभयो । ‘महिलाहरुले सुरुमा ३३ प्रतिशत आरक्षण माग्नु भएको थियो’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘स्थानी तह देखि संघीय संसदसम्म हेर्ने हो भने अहिले महिलाको प्रतिनिधित्व ४१ प्रतिशत पुगेको छ । यसलाई हामी छिट्टै ५० प्रतिशत पु¥याउदैछौं ।’

महिलाहरुको आर्थिक सवलीकरण नभएसम्म प्रतिष्पर्धी क्षमता बिस्तारमा केही कठिनाइ हुने भएकोले त्यसतर्फ पनि ध्यान दिनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘घरेलु उद्यम मार्फत महिलालाई आर्थिक रुपमा शसक्त बनाउन सकिन्छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘ महिला उद्यमीहरुले निर्यातजन्य वश्तुको उत्पादन गर्ने सके आर्थिक स्तर उकासिन धेरै समय लाग्दैन ।’

प्रधानमन्त्री ओलीले वर्तमान सरकारको गठन एउटा नियमित प्रक्रिया भन्दा फरक रहेको बताउनुभएको छ । ‘यो सरकार परिवर्तन मात्र होइन ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘यो प्रणालीको परिवर्तन हो । सरकारको उद्धेश्यको परिवर्तन हो ।’ वर्तमान सरकारले देश निर्माण र जनताको हित बाहेक अरु कुनै कुरा नसोचेको प्रधानमन्त्री ओलीले बताउनुभएको छ । प्रधानमन्त्री ओलीले मेलामा प्रदर्शनीका लागि राखिएका घरेलु उत्पादनका सामग्रीहरुको निरीक्षण पनि गर्नुभएको थियो ।

प्रकाशित मिति : ८ चैत्र २०७४, बिहीबार १६:४८