देउवा नेतृत्वको छायाँ सरकारमा कांग्रेस सांसदकै अरूची
३० पुस, काठमाडाैँ । इतिहासकै सबैभन्दा जम्बो सरकारको नेतृत्व गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठन गर्न लागेको छायाँ सरकारमा सांसदहरूले रूची नदेखाएको पाइएको छ । कांग्रेस संसदीय दलको बैठकले तीन वटा इच्छाएको मन्त्रालयसहित अावेदन मागेकामा जम्मा १० जनाले निवेदन पेश गरेका छन ।
देउवाको नेतृत्वमा नै छायाँ सरकार बन्ने भएपछि सांसदहरूले अरूची देखाएको बुझिएको छ । निवेदन दिएकाहरूमा पनि अाकर्षक पत्रहरू छैनन् । निवेदन दिनेमा पूर्वमन्त्री समेत रहेका छन । रुचि भएका तीन वटा मन्त्रालयको नाम मागेको एक सातामा ६३ मध्ये १० सांसदले मात्रै नाम टिपाएका हुन । सांसदलाई नाम टिपाउन कांग्रेसले एक हप्ताको समय दिएको थियो ।
प्रधानमन्त्रीसहित सबै मन्त्रालयको काम–कारबाही नजिकबाट निगरानी गर्न छाया सरकार गठन गर्ने निर्यण गर्दै नाम टिपाउन सांसदलाई आग्रह गरेको थियो । नयाँ पत्रिका दैनिकका अनुसार, छायाँ सरकारको गृहसहित संघीय मामिला र युवा तथा खेलकुद मन्त्रालयमा दिलेन्द्रप्रसाद बडुले आकांक्षा देखाएका छन् ।
बडुजस्तै देवेन्द्रराज कँडेलले पनि छाया सरकारको गृह मन्त्री हुने रुचि देखाएका छन् । गृहको अलावा उनले पर्यटन र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीका लागि पनि आवेदन हालेको नयाँ पत्रिकाको समाचारमा उल्लेख छ । यसअघि रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका भीमसेनदान प्रधानले छाया सरकारमा शिक्षा, स्वास्थ्यसँगै रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने चाहना देखाएका छन् ।
छाया सरकारको मन्त्री बन्ने दौडमा तीन महिलासमेत छन् । डा. डिला संगौला, सुजाता परियार र मीनाक्षी झाले पार्टीले अघि सारेको छाया मन्त्रिपरिषद्को सदस्य हुन रुचि देखाएका हुन् । त्यस्तै देवप्रसाद तिमिल्सेना, तेजुलाल चौधरी, जिपछिरिङ लामा र रामबहादुर विष्टले पनि मन्त्री हुने रहर गरेको नयाँ पत्रिका समाचारमा उल्लेख छ ।
प्रकाशित मिति : ३० पुष २०७५, सोमबार ०८:४४