१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

चार लाख नक्कली स्टिकरसहित सांग्रिला डिस्टिलरीका प्रबन्धक भवानीप्रसाद उप्रेती पक्राउ


८ चैत, रुपन्देही । राजस्व छल्नेमा अग्रस्थानमा रहेको सांग्रिला डिस्टिलरीको चार लाख नक्कली स्टिकर बरामद भएको छ । राजस्व छल्न भारतमा छपाएर नेपालमा ल्याउँदै गरेको स्टिकर प्रहरीले बरामद गरेको हो ।

धनुषाको सांग्रिला डिस्टिलरीले सुनौली नाका हुंदै भारतीय नं.प्लेटका गाडीमा ल्याउँदै गरेको चारलाख नक्कली स्टिकर रुपन्देहीको रोहिणी गाउँपालिका वार्ड नं.४ बाट प्रहरीले बरामद गरेको हो । आन्तरिक राजश्व बिभागका ती स्टिकरहरु यूपी ४३ एई १६८२ नं को गाडीमा ल्याइएको प्रहरीले जनाएको छ ।

नक्कली स्टिकरसहित सो स्टिकर बोक्न प्रयोग भएको गाडी र गाडीका चालकसहित तीन जनालाई सोही स्थानबाट पक्राउ गरिएको प्रहरहीले जनाएको छ ।

प्रहरीले धनुषा जिल्लामा रहेको साङग्रिला डिस्टिलरीका प्रबन्धक भवानीप्रसाद उप्रेती र उत्पादन अधिकृत कामेश्वर महतोलाई समेत पक्राउ गरेको छ । उनीहरुलाई सरकारी छाप दस्तखत किर्ते मुद्धामा रुपन्देही जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७४, बिहीबार १६:१८