अवैध सुनसहित नागढुंगाबाट भारतीय नागरिक पक्राउ
२३ जेठ, काठमाडौं । ४५ लाख रुपैयाँ भन्दा बढीको अवैध सुनसहित नागढुंगाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पश्चिम बंगालका ३१ वर्षीय महादेव सामान्त छन् । प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो ।
काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बा. प्र. ०३–००१ ख ३१३९ नम्बरको बसमा काठमाडौं आउँदै गर्दा उनलाई २७४.८३ ग्राम अवैध सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । बजार भाउअनुसार उक्त परिमाणको सुनको मूल्य ४५ लाख ६३ हजार ८२६ रुपैयाँ हुन आउँछ । थप अनुसन्धान एवम् कारबाहीका लागि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा पठाइएको छ।
प्रकाशित मिति : २३ जेष्ठ २०८२, शुक्रबार १३:३१












