किन राजनीति ?
-निराजन खतिवडा
सायद जीवनमा सबैभन्दा धेरै सोधिएको प्रश्न यही हो — “किन राजनीति?”, “CSIT को विद्यार्थी, विदेश जाने सम्भावनाहरू बोकेको, भविष्य सुनौलो बनाउन सक्ने व्यक्तित्व… किन यो झमेलापूर्ण, अलमलिएको, आरोप र आरोपको राजनीतिमा पाइला राखेको?” सायद यो प्रश्न उनीहरूले सोध्छन्, जसको लागि राजनीति भनेको गालीको अर्को नाम हो, आरोप-प्रत्यारोपको अखडा हो, र स्वार्थीहरूको प्रतिस्पर्धा हो । ती सबैले भविष्य बनाउने सपना केवल Silicon Valley पुगेर मात्र पूरा हुँदैन, कहिलेकाहीँ त्यही सपना बनाउने जिम्मेवारी आफ्नो गेटभित्र, आफ्नो वर्गको कुर्सीमा, आफ्नो क्याम्पसको आँगनमै सुरु हुन्छ भन्ने कुरा बिर्सन्छन् । सायद उनीहरूले त्यसरी सोच्नुको पनि कारण छ, किनभने लामो समयदेखि हामीले राजनीति भोगेका छौं, राजनीतिज्ञ होइन । तर यही राजनीतिमा पनि सम्भावनाको एउटा गहिरो तह हुन्छ, जुन देख्न आँखाभन्दा मन शुद्ध हुनुपर्छ ।
म पनि विदेश जाने योजनामा थिएँ । म पनि त्यहीँ भीडमा थिएँ, जहाँ आफ्नो देशप्रति मोहभन्दा बढी गुनासो छ, आलोचना छ, अनि विकल्पको खोजी मात्र देखिन्छ । बाल्यकालदेखि राजनीतिमा रुचि थियो, तर त्यो रुचि अठोटमा कहिल्यै परिणत भएन । नारा र र्यालीमा सहभागीता थियो, तर त्यो सहभागिता मात्र थियो, जागरण थिएन । त्यो टाढाबाट ताली बजाउने रुचि मात्र थियो, अगाडि गएर हात बढाउने आँट थिएन । अनि जब मैले वास्तविकता देख्न थालेँ – जहाँ शिक्षाभन्दा बढी स्वार्थ हावी थियो, विचारभन्दा बढी गुट हाबी थियो, अनि विद्यार्थीका मुद्दाभन्दा बढी नेताका आकांक्षा हाबी थिए – त्यहीँबाट सुरु भयो मेरो बदलिने यात्रा । समयसँगै बुझ्न थालेँ कि उपस्थितीले इतिहास बन्दैन, अठोटले बन्छ । म त यही माटोमा, यही घाममा, यही धुलोमा, पसिना बगाएर आफ्नै ठाउँ बदल्ने संकल्प बोकेर आएको हुँ ।
राजनीतिमा मेरो प्रवेश कुनै आकस्मिकता थिएन । म संगै हिँड्ने साथीहरूले जब चुपचाप प्रणाली स्वीकारे, म बोल्न थालेँ । जब कक्षाकोठा समस्याको आवाज होइन, मौनताको प्रतिरुप बन्न थाल्यो तब मैले हस्तक्षेप गर्न सिकें । अनि जब आवाज मात्र पर्याप्त भएन, जब नीति निर्माणमा आफू नगई, नीति हामीमाथि थोपरिन थाल्यो, तब मैले राजनीतिलाई केवल विषय होइन, दायित्व को रूपमा लिन सुरु गरें ।
म अमृत क्याम्पसको स्ववियु सह-सचिव हुँ । म राजनीतिमा पदको लागि आएको होइन । पद त एक चिनारी हो, मेरो कामको सुरुवात होइन, प्रमाण हो । पदको चमकभन्दा अघि मैले जिम्मेवारीको गहिराइ देखेको मान्छे हुँ । पद एउटा साधन हो, साध्य होइन । म कहिल्यै पदको पछि दौडिएर राजनीतिमा आएको होइन, म त योजनाको साथ आएको हुँ । आज जुन योजना मैले अघि सारेको छु, त्यो योजना मैले पद नहुँदा पनि बोकेर हिँडेको थिएँ। तर थाहा भयो, “बिना शक्ति, नीति व्यर्थ हुन्छ” । जब लाग्यो कि आवाज उठाउँदा भित्ताबाट फर्केर आउँछ तब बुझें, जिम्मेवारीसँगै शक्तिको संयोजन जरुरी छ । मलाई लाग्छ, राजनीति गाली खाने ठाउँ मात्र होइन, राजनीति असल नियत र कार्यशैलीसँग जोडिएमा यो देश निर्माणको मूल आधार बन्न सक्छ । राजनीति मेरो लागि पेशा होइन, यो त मेरो पुस्ताको घाउमा मलहम लगाउने प्रयास हो ।
आज पदमा छु, तर जुनसुकै सुधारको प्रयास गरे पनि त्यो चक्रव्यूहजस्तै लाग्छ, जहाँ पपुलिस्टहरूको नारा छ, स्वार्थीहरूको साजिस छ, गुट-उपगुट र साचो कुरा गर्नेहरूलाई चुप लगाइने चलन छ । कहिलेकाहीँ साँच्चै लाग्छ — “छाडिदिऊँ?” । धेरै पटक लाग्छ, “किन झमेलामा परिरहने?” तर फेरि सम्झन्छु, मेरो सपना । त्यो सपना जसमा मैले एउटा न्यायपूर्ण, पारदर्शी र उत्तरदायी नेतृत्व देखेको थिएँ । त्यो सपना जसमा मैले मेरो क्याम्पस, मेरो भूगोल र मेरो देशलाई एक दिन परिवर्तनशील शिक्षाको केन्द्र बनाएको थिएँ । त्यही सपना हो, जसले मलाई हरेक पल सुस्पष्ट गराउँछ कि म यहाँ किन छु । मलाई राजनीतिमा गुट होइन, मलाई उद्देश्य चाहिएको हो, मलाई शक्ति होइन, जिम्मेवारीको प्लेटफर्म चाहिएको हो, अझै त्यो भन्दा बढी – मलाई साथ चाहिएको हो, त्यो पनि निष्कलंक र समर्पित साथ ।
म राजनीति मार्फत देश मात्र बदल्न आएको होइन, म त आफ्ना मानिसहरूलाई आफ्नो भविष्य बनाउने सामर्थ्य दिन आएको हुँ । परिवर्तन सरकारबाट मात्र होइन, साना साना निर्णय, साना साना हिम्मत, अनि दृढ इमानदारीबाट सुरु हुन्छ । म राजनीति भन्ने शब्दलाई पुनः परिभाषित गर्न आएको हुँ – जहाँ काम गरिन्छ, स्वर होइन; जहाँ योजना बोकिन्छ, खोक्रो भाषण होइन; जहाँ नेतृत्व सेवा हो, सौदा होइन । मलाई थाहा छ राजनीति सजिलो छैन, तर यसको जिम्मा कठिन बाटो हिँड्न सक्नेहरूले लिनुपर्छ । म वैकल्पिक संरचना निर्माण गर्न चाहन्छु, जहाँ विद्यार्थीहरूको आवाज साँचो अर्थमा निर्णयमा परिणत हुन्छ ।

धेरै ठाउँ बाट, विदेश जानु आधुनिकताको संकेत हो भनी सुनेको छु । तर म भन्छु, यत्ति असमानता, यत्ति अन्याय देखेर चुप बस्नु भनेको विवेक गुमाउनु हो । परिवर्तन किताबको पानाहरु बाट होइन, हाम्रो सामूहिक निर्णयबाट मात्र सम्भव छ । किनभने शिक्षा नीतिमा न्याय नभएसम्म देशको मेरुदण्ड सधैं कमजोर रहन्छ । हामीले राजनीतिलाई नबुझेसम्म, हाम्रो भविष्य अरूको सौदामा बेचिन सक्छ ।
मसँग प्रविधिको ज्ञान छ, मसँग योजना छ – केवल शब्द होइन, कार्यान्वयनको सोच छ, मसँग व्यवहारिक दृष्टिकोण छ, केवल सामना गर्न होइन, मार्ग खोल्ने आँट छ, र सबैभन्दा महत्वपूर्ण कुरा – मसँग समय बदल्ने अठोट छ । मलाई पूर्ण विश्वास छ कि यदि सच्चा नियत बोकेकाहरू अघि सर्छन् भने राजनीति अझै सुध्रन सक्छ । मसँग समय छैन कि कसैले बाटो बनाइदिन्छ भनि हेरेर बसूँ । मलाई त आफैं बाटो खनेर हिँड्नु छ ।
मलाई शक्तिको लोभ छैन, म जिम्मेवारी चाहिएर आएको हुँ । राजनीति मेरो लागि अस्त्र होइन, दायित्व हो । राजनीति मेरो करियर होइन, मेरो कर्म हो । यो राजनीतिमा म अवसर खोज्न आएको छैन, म आफ्नो पुस्ताको भविष्य सुरक्षित गर्न आएको हुँ । म विश्वास गर्छु, हाम्रा समस्या जति जटिल छन्, समाधान पनि त्यत्तिकै सम्भव छन् – यदि हामीसँग दृष्टि, दृढता र सहनशीलता छ भने ।
म राजनीति मार्फत कुरा गर्न आएको होइन, केही गरेर देखाउने शाहस लिएर आएको हुँ । म पनि विद्यार्थी हुँ – किताब मात्र होइन, कटु यथार्थ पढ्ने विद्यार्थी । र म विश्वास गर्छु, विद्यार्थीको आवाज भनेको परिवर्तनको पहिलो आन्दोलन हो । म त्यो आवाज बन्न चाहन्छु – आवाज मात्र होइन, समाधानको हिस्सा बन्न चाहन्छु । म परिवर्तन देख्न मात्र चहान्न, म परिवर्तन बन्न चाहन्छु । म सपना देख्ने मान्छे हुँ, र त्यो सपना पुरा गर्न तिनै चुनौतीहरूको सामना गर्न तयार छु, जुन अरूले देखेपछि भाग्न खोज्छन् ।
म राजनीतिमा छु, किनभने मैले सपनालाई कर्ममा बदल्ने आँट गरेको छु । किनभने मलाई विश्वास छ, यो पुस्ता अब चुप लागेर बस्ने पुस्ता होइन । हामी लड्छौं – जसरी इतिहास बनाइन्छ, त्यसरी । र म यो यात्रामा छु, किनभने अब मौन बस्नु अपराधजस्तै लाग्छ ।
(लेखक खतिवडा स्वतन्त्र विद्यार्थी युनियन अमृत साइन्स क्याम्पसको सहसचिव हुनुहुन्छ । उहाँसँग फेसबुकमा पनि अन्तरक्रिया गर्न सकिन्छ ।)
प्रकाशित मिति : २३ जेष्ठ २०८२, शुक्रबार १२:५६