४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026

नवप्रवर्तन प्रवर्द्धनमा त्रिभुवन विश्वविद्यालयको पहल, TUBIC को अनुभव आदान–प्रदान

२३ जेठ, कीर्तिपुर । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अनुसन्धानमा आधारित नवप्रवर्तन, उद्यमशीलता तथा उद्योगसँगको सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरेको त्रिभुवन विश्वविद्यालय व्यवसाय इन्क्युबेसन केन्द्र (TUBIC) ले एकदिने “अनुभव आदान–प्रदान तथा अन्तरक्रिया कार्यक्रम” सफलतापूर्वक सम्पन्न गरेको छ। किर्तिपुरस्थित TUBIC को सेमिनार हलमा आयोजित उक्त कार्यशालामा त्रिविका विभिन्न केन्द्रीय विभाग तथा अध्ययन संस्थानहरूसँग आवद्ध इन्क्युबेसन केन्द्रका करिब १५ जना संयोजक र फोकल पर्सनहरूको सहभागिता रहेको थियो।

उक्त कार्यक्रममा TUBIC का निर्देशक प्रा. डा. तारा प्रसाद भुसालले केन्द्रको उद्देश्य, हाल सञ्चालनमा रहेका कार्यक्रमहरू तथा भावी नीतिगत र कार्यक्रमगत योजना बारे व्यापक जानकारी प्रस्तुत गर्नुभयो। उहाँले

त्रिभुवन विश्वविद्यालयका वर्तमान कुलपति प्रा. डा. खड्ग के.सी. को नेतृत्वमा केन्द्रले आइडिएसन (विचार विकास), इन्क्युबेसन (उद्यम विकास), प्रोटोटाइप निर्माण, बौद्धिक सम्पत्ति अधिकार (IPR), स्केल अप तथा उद्योगसँगको सहकार्य जस्ता पक्षहरूमा केन्द्रित भएर समग्र इन्क्युबेसन प्रणालीको विकास गरिरहेको जानकारी दिनुभयो।

कार्यक्रममा पूर्व कुलपति प्रा. डा. शिवलाल भुसालको विशेष उपस्थिति रहँदा उहाँले विश्वविद्यालयले नवप्रवर्तन र अनुसन्धानलाई व्यवहारमा रूपान्तरण गर्न TUBIC जस्तो संस्थाको आवश्यकता अपरिहार्य रहेको बताउँदै त्रिविले चालाएको यो पहल प्रशंसनीय भएको धारणा राख्नुभयो।

अन्य सहभागीहरूले आफ्ना केन्द्रहरूको वर्तमान अवस्था, गतिविधिहरू, उपलब्धि, चुनौतीहरू र आगामी कार्ययोजनाहरू प्रस्तुत गर्दै अनुभव आदान–प्रदान गरेका थिए। सहभागीहरूले TUBIC लाई त्रिवि अन्तर्गतका सम्पूर्ण इन्क्युबेसन केन्द्रहरूको साझा समन्वयकारी संस्था (umbrella organization) को रूपमा भूमिका निर्वाह गर्नुपर्नेमा एकमत जनाएका थिए।

कार्यक्रममा सहभागीहरूले त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय अनुदान आयोग (UGC), तथा तीनै तहका सरकारहरूबीच सहकार्य र समन्वय गरेर आइडिएसनदेखि स्टार्टअपसम्मको यात्रा सहज बनाउने वातावरण तयार गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।

उक्त कार्यशालाको सञ्चालन TUBIC का उपनिर्देशक श्री खगेन्द्र कटुवालले गर्नुभएको थियो, जसले कार्यक्रममा सहभागिता र विचार विमर्शलाई प्रभावकारी रुपमा संयोजन गर्नुभयो।

कार्यक्रमको समापनमा सहभागीहरूले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्क्युबेसन प्रणालीलाई थप संस्थागत बनाउँदै नवप्रवर्तन, उद्यमशीलता र अनुसन्धानको व्यवहारिक उपयोगका लागि TUBIC लाई नेतृत्वदायी केन्द्रको रूपमा अझ सशक्त रूपमा अघि बढाउन प्रतिबद्धता जनाए।

प्रकाशित मिति : २३ जेष्ठ २०८२, शुक्रबार ०८:१८