२६ माघ २०८२, सोमबार | Tue Feb 10 2026

अब घरजग्गाको कारोबार गर्दा दुवै पक्षको ‘बैंक स्टेटमेन्ट’ अनिवार्य

२१ जेठ, काठमाडौं । सरकारले घरजग्गा खरिद बिक्री गर्दा अब किन्ने र बेच्ने दुवै पक्षले बैंक स्टेटमेन्ट अनिवार्य पेश गर्नुपर्ने व्यवस्था गरेको छ ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सम्पति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन २०६४ को दफा ७ न को उपदफा(२) अनुसार घर जग्गा खरिद वा बिक्री व्यवसायकाे हकमा यस्तो व्यवस्था गरिएको हो । मन्त्रालयले देशैभरको मालपोत कार्यालय र भूमिसुधार तथा मालपोत कार्यालयलाई पत्राचार गर्दै यस्ता व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ ।

अबदेखि घरजग्गा खरिद बिक्रीको कारोबार गर्दा स्थानीय तहले प्रमाणित गरेको बैनावट्टाको कागज पेश गरेमा १० लाख रुपैयाँभन्दा बढीको बैनावट्टा भएको अवस्थामा त्यस्तो रकम खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको बैंक खातामा बैंकिङ्ग वा विधुतीय कारोबार प्रणालीमार्फत लेनदेन भएको विवरण बैनावट्टाको कागजातसहित पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

५० लाख रुपैयाँभन्दा माथिको कारोबार ‘गुड फर पेमेन्ट चेक’ वा विद्युतीय माध्यमबाट मात्र गर्न पाइनेछ । घरजग्गा खरिदकर्ताले आफ्नो बैंक खाताबाट बिक्रीकर्ताको खातामा रकम पठाएको प्रमाणस्वरूप बैंक स्टेटमेन्ट पेश गर्नुपर्नेछ ।

त्यस्तै, एकै दिनमा एकै पटकमा वा पटक पटक गरी एउटै खरिदकर्ता वा बिक्रीकर्ताले तीन करोड रूपैयाँ माथिको कारोबार गरेमा समेत विवरण राष्ट्र बैंकको वित्तीय जानकारी इकाइमा दिनुपर्ने व्यवस्था गरिएको छ। यो व्यवस्थाले सम्पत्ति शुद्धीकरण निरुत्साहित गर्ने , कारोबार पारदर्शी बनाउने र राजस्व चुहावट रोक्ने मन्त्रालयले जनाएको छ । यस्तै, मालपोत क्षेत्रमा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न सहयोग पुर्याउने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८२, बुधबार १२:५६