२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

निफ्राको ऋणपत्रमा आवेदन दिने म्याद थप

२१ जेठ, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा) को  ऋणपत्रमा आवेदन दिने म्याद थप गरिएको छ । यो ऋणपत्रमा आवेदन दिने अन्तिम मिति जेठ २१ गते तोकिएको थियो, तर जेठ १८ गते सार्वजनिक बिदा परेकाले आवेदन दिने समय थप गरिएको हो । यो ऋणपत्रमा अब जेठ २२ गतेसम्म आवेदन दिन सकिने भएको छ ।

बैंकले ७ वर्ष अवधिको वार्षिक ६ प्रतिशत ब्याजदर पाइने ‘निफ्रा हरित उर्जा ऋणपत्र ६ प्रतिशत २०८८र८९’ को निष्काशन गरेकाे छ । बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। सोमध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँड गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणमा बाँडफाँड गरिनेछ।

सर्वसाधारणमा बाँडफाँड गरिने ऋणपत्रमध्ये १ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताले १९ लाख कित्ता ऋणपत्रका लागि आवेदन दिन सक्नेछन्। सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि र अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट इजाजत पत्र प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : 09:15