१७ चैत्र २०८२, मंगलवार | Tue Mar 31 2026

छुट्ला है ! दुई बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२१ जेठ, काठमाडौं । दुई बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज  अन्तिम दिन रहेको छ । नेशनल लाइफ इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

यी दुवै कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि जेठ २२ गते बुक क्लोज गर्दैछन् । यसको अर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै यी कम्पनीको लाभांश पाउन र साधारण सभामा सहभागी हुन सक्नेछन् ।

एनएलजी इन्स्योरेन्सले जेठ २९ गते  आम्रपाली ब्याङ्केट, थिरबम सडक, बालुवाटार, काठमाडौँमा १९ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको २.५० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.१३१५७९ प्रतिश नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

त्यसैगरी, नेशनल लाइफ इन्स्योरेन्सले असार ५ गते आफ्नो केन्द्रिय कार्यालय, लाजिम्पाट, काठमाडौँमा ३७ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान साढे १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, संस्थापक समूहबाट ३ जना र सर्वसाधारण लगानीकर्ताहरुबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

प्रकाशित मिति : २१ जेष्ठ २०८२, बुधबार ०९:०४