७ आश्विन २०८२, मंगलवार | Tue Sep 23 2025

एडिलेडमा रुपेश्वर गौर दासको सान्निध्यमा विशेष आध्यात्मिक कार्यक्रम हुदै

एडिलेड । साउथ अस्ट्रेलियाको एडिलेड स्थित नेपाली समुदायका लागि एक विशेष आध्यात्मिक कार्यक्रम यही आउँदो शुक्रबार, जुन ६ तारिख आयोजना हुने भएको छ । ‘Spiritual Convention: Mind and Mindset’ नाम दिइएको यस कार्यक्रममा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त आध्यात्मिक मार्गदर्शक, प्रेरक वक्ता तथा वैदिक जीवनशैलीका अभ्यासकर्ता रुपेश्वर गौर दासको प्रमुख उपस्थित रहनेछ।

कार्यक्रम साँझ ६:०० बजेदेखि ९:०० बजेसम्म, 489 Brighton Rd, Brighton SA 5048 मा आयोजना गरिनेछ। यस कार्यक्रमको आयोजना रेटा वर्ल्ड र ओके छ त इभेन्टको संयुक्त पहलमा गरिएको आयोजन निजन श्रेष्ठले बताए।

रुपेश्वर गौर दास, जो ISKCON (अन्तर्राष्ट्रिय कृष्णभावनामृत संस्था) का प्रमुख आध्यात्मिक शिक्षक र प्रेरक वक्ता पनि हुन्, संसारभरि आफ्ना अद्वितीय शिक्षण र मार्गदर्शनको लागि प्रसिद्ध छन्। उनले जीवनका गहिरा प्रश्नहरूमा ध्यान, साधना र भक्ति मार्फत समाधान खोज्नका लागि लाखौं मानिसहरूलाई प्रेरित गरेका छन्। उनको शिक्षाले व्यक्तिको मनोबल बढाउने र आन्तरिक शान्ति ल्याउने उद्देश्य राख्दछ।

‘Mind and Mindset’ शीर्षकको यो सत्संग तथा अन्तर्क्रिया कार्यक्रमले मनको शुद्धि, सोचको रूपान्तरण र वैदिक दर्शनमार्फत जीवन सुधार गर्ने विषयमा ध्यान केन्द्रित गर्नेछ। रुपेश्वर गौर दासले आधुनिक जीवनमा आध्यात्मिक अभ्यास कसरी सजीव र उपयोगी हुन सक्छ भन्नेबारे आफ्ना अनुभूति र शिक्षणहरू प्रस्तुत गर्नेछन्।

कार्यक्रमका आयोजकहरूले भनेका छन्, “यस कार्यक्रममा सहभागीहरूले ध्यान, आत्मचिन्तन, र भक्ति तत्वहरूको सन्देश पाउँदै आध्यात्मिक शान्ति र प्रेरणा प्राप्त गर्नेछन्।”

रुपेश्वर गौर दासका कार्यक्रमहरूमा मानिसहरूले आफूलाई नयाँ दृष्टिकोणबाट हेर्ने अवसर पाउँछन्, जसले जीवनका तनावपूर्ण र जटिल परिस्थितिहरूसँग जुझ्नमा मद्दत पुर्‍याउँछ। यस कार्यक्रममा सहभागीहरूलाई आफ्नो सोच र मनोवृत्तिलाई सकारात्मक र शान्तिपूर्ण बनाउनका लागि मार्गदर्शन दिइनेछ।

कार्यक्रममा सम्पूर्ण नेपाली समुदायको उपस्थितिका लागि आयोजकहरूले आमन्त्रण गरेका छन्।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार ११:१०