भर्ने होइन त ? सर्वसाधारणका लागि भोलिदेखि आईपीओ निष्काशन हुँदै
१३ जेठ, काठमाडौं । ट्रेड टावर लिमिटेडले भोलि जेठ १४ गते बुधबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेसँगै अब सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।
कम्पनीले आफ्नो जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८.६९६ प्रतिशतका दरले हुन आउने ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३ करोड ९७ लाख १६ हजार ९३० रुपैयाँ बराबरको ३ लाख ९७ हजार १६९.३० कित्ता सेयर निष्काशन गरिसकेको छ ।
कम्पनीले बाँकी रहेको ३५ लाख ७४ हजार ५२३.७० कित्तामध्ये १ लाख ९८ हजार ५८४.६५ कित्ता सामूहिक लगानी कोषका लागि र ७९ हजार ४३३।८६ कित्ता कम्पनीमा कार्यरत कर्मचारीका लागि सुरक्षित गरेको छ। त्यस्तै, ३२ लाख ९६ हजार ५०५.१९ कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्तासम्मका लागि जेठ १९ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।
प्रकाशित मिति : १३ जेष्ठ २०८२, मंगलवार १५:०३













