गभर्नर नियुक्ति प्रक्रियाले चाँडै निकास पाउँछः प्रकाशशरण महत
६ जेठ, गोरखा । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले वर्तमान गठबन्धन सरकार तोडिने अवस्था नरहेको बताउनुभएको छ । आज गोरखाका पत्रकारहरुसँग अन्तरक्रिया गर्दै उहाँले बजारमा चलेका अफवाहको पछाडि नलाग्न पनि आग्रह गर्नुभयो ।
“म अनावश्यक सूचनाको पछि नलाग्न म अनुरोध गर्दछु”, उहाँले भन्नुभयो, “यो गठबन्धन उच्चकोटीको भएकाले एकअर्काको दृष्टिकोणलाई बुझ्नुपर्दछ । गठबन्धन भन्नेबित्तिकै त्यहाँ साझा दृष्टिकोणको आवश्यकता पर्दछ ।”
उहाँले गभर्नर नियुक्तिको प्रक्रियाले चाँडै निकाश पाउनेमा समेत विश्वास व्यक्त गर्नुभयो । “अहिले कुनै पनि दलसँग स्पष्ट बहुमत ल्याउन नदिएकाले गठबन्धनको सरकार बनाउनु परेको हो । यसअघिका गठबन्धनभन्दा यो गठबन्धन बलियो भएकाले यसमा शङ्का, उपशङ्का उत्पन्न हुने खालका वातावरण सिर्जना हुनबाट जोगाउन सरकारमा रहेकाहरु बढी जिम्मेवार हुनुपर्छ ।”
आफू यसअघि अर्थमन्त्री हुँदा अस्तव्यस्त अर्थतन्त्रलाई सही ठाउँमा ल्याउन सफल भएको दाबी गर्दै उहाँले भन्नुभयो, “अहिले केही न केही सुधार भएको छ तर यति सुधारले हामी सन्तुष्ट छैनौँ, अब दोस्रो चरणको सुधारको योजना अघि बढ्नुपर्छ ।” उहाँले संसद्बाट अर्थसम्बन्धी पाँचवटा विधेयक पास भएको पनि उल्लेख गर्नुभयो ।
प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलवार १५:३७







