२२ माघ २०८२, बिहीबार | Fri Feb 6 2026

विकासका कामले जेनजीका आकांक्षा समेटनुपर्छः वर्षमान पुन

१ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले सरकारको बजेट तथा कार्यक्रमले जेनजी (जेनेरेसन १९९०–२०१०) लक्षित कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजन विधेयकमा सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा भाग लिँदै पूर्वअर्थमन्त्री पुनले प्रविधिसँग हुर्किएका ‘जेनजी’सँगै पछिल्ला पुस्ताका आकांक्षामाथि बहस गर्दै विकासका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

डिजिटल पूर्वाधार विकाससँगै स्मार्ट पूर्वाधारमा बहस गर्नुपर्ने राय पुनले व्यक्त गर्नुभयो । “एआई/रोबोटसँग हुर्किएका जेनजी र त्यसपछिका पुस्ताहरु ज्ञानको अवसरसँगेै समाज र यथार्थबाट बेखबर बनिरहेको अवस्था छ । यो हाम्रा लागि चुनौती हो”, उहाँले भन्नुभयो, “जेनजीको आकांक्षामाथि छलफल गर्नुपर्छ । त्यसलाई आजको हाम्रो विकास र कार्यक्रमले कसरी सम्बोधन गर्छ, भन्नेतर्फ बहस चलाउनुपर्छ ।”

पूर्वअर्थमन्त्री पुनले उत्पादनमा प्रविधिको प्रयोगले पुनरुत्पादनको न्यायोचित वितरणबारे बहस गर्नुपर्ने उल्लेख गर्नुभयो । “निजीकरण सबै बजारलाई छाड्दा विकृतिहरु आयो । निजी क्षेत्रलाई कानूनी शासन हुनुपर्यो । बजार प्रतिस्पर्धी हुनुपर्यो । त्यो सिद्धान्तमा आधारित भएर हाम्रो बजेट र कार्यक्रम आउनुपर्छ”, उहाँले भन्नुभयो ।

उहाँले राजस्वका नीतिमा सुधारको आवश्यकता औल्याउनुभयो । “राजस्वमा त्यस्ता नीतिहरु बनुन जसले पार्टी, नेता र प्रशासक वा मन्त्री नचिने पनि उसले व्यवसाय गर्न सकोस, प्रतिस्पर्धा गर्न सकोस, त्यस्तो नीतिमा काम गर्न सक्नुपर्छ ।”

पूर्वअर्थमन्त्री पुनले अर्थतन्त्र सुधारका लागि अर्थतन्त्रको संरचना, व्यावसायिक वातावरण, सार्वजनिक वित्त प्रणाली र वित्तिय क्षेत्रको सुधार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सार्वजनिक प्रशासनलाई प्रतिस्पर्धी बनाउन सुझाव दिनुभयो ।

सोही छलफलमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद सूर्यबहादुर थापाले बेरुजुको भयावह अवस्थाबारे सबै जिम्मेवार पदाधिकारी र निकायको ध्यानार्कषण गराउनुभयो । “तीनै तहको सरकारअन्र्तगत बेरुजुको तस्बीर भयावह छ, यस्तो सुशासनका हिसाबले चिन्ताको विषय हो । बेरुजुलाई रुजु, फर्छ्यौट र असुल उपर गर्नुपर्छ । त्यसो नगरि यथास्थितिमा अघि बढ्न खोज्नु कुशासन हुन्छ”, उहाँले भन्नुभयो ।

उहाँले लेखा समितिको भूमिकालाई कार्यक्षेत्र र प्राप्त जिम्मेवारी केन्द्रित गरेर ठोस परिणाम हासिल गर्न अघि बढाउनु अत्यावश्यक भएको बताउनुभयो । उहाँले बजेटको न्यायोचित वितरणबारे समेत ध्यानार्कषण गराउनुभयो । उहाँले देशभरका रुग्ण आयोजना, सडक, पुल र राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्न बजेट केन्द्रित गर्न माग गर्नुभयो ।

“बजेटलाई न्यायोचित विरतण गर्छौँ कि विगतमा जस्तै केही जिल्लाहरुलाई मात्र प्राथमिकता दिन्छौँ, यी प्रश्नहरु गर्नै पर्ने बेला भएको छ”, सांसद क्षेत्रीले भन्नुभयो ।

प्रकाशित मिति : १ जेष्ठ २०८२, बिहीबार १६:३८