एनआरएनए अष्ट्रेलियाको निर्वाचन जुलाई २६, मतदान गर्न जुन ६ भित्र सदस्यता लिनु पर्ने
अष्ट्रेलिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले आगामी जुलाई २६ मा २०२५-२७ कार्यकालका लागि नेतृत्य चयन गर्न निर्वाचन गर्ने घोषणा गरेको छ ।
सिड्नी स्थित एनआरएनए कार्यालयमा आयोजित पत्रकार सम्मेलनको एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले निर्वाचन सम्वन्धी जानकारी दिएका हुन् ।
अध्यक्ष पोखरेलका अनुसार गत वर्ष संशोधित विधान बमोजिम एक अध्यक्ष, एक उपाध्यक्ष, एक महासचिव र एक कोषाध्यक्षको लागि निर्वाचन गरिनेछ । एनआरएनको राज्य संयोजकहरु अब उपाध्यक्ष नहुने भएका छन् । यो परिवर्तन अघिल्लो पटक एडिलेडमा गरिएको विधान अधिवेशनमार्फत गरिएको थियो । अब एनआरएन अष्ट्रेलियाका बोर्ड सदस्यहरु १९ जना हुनेछन् । यसअघि १७ सदस्यीय बोर्ड रहने गरेकोमा उपाध्यक्ष र प्रिन्सिपल ग्रान्ट अफिसर थप गरिएको हो ।
निर्वाचनका लागि जुन ६ सम्म योग्यता प्राप्त व्यक्तिहरुले सदस्यता लिन सक्ने समय सिमा निर्धारण गरिएको छ । भने निर्वाचन बुथहरुमा नभै अनलाईन नै हुने भएको छ । विश्व कै सबै भन्दा धेरै सदस्य रहेको अष्ट्रेलिया एनआरएनएले सदस्यता शुल्क बृद्धि गरेर शुल्क २५ डलरबाट बढाएर ३० डलर बनाएको छ । यस्तै आजीवन सदस्यता शुल्क २ सय ५० डलर तोकिएको छ । पत्रकारहरुको प्रश्नको जवाफमा पोखरेलले गत वर्षकै एउटा कार्डबाट अधिकतम ४ जना सम्म सदस्य बन्न पाउने व्यवस्था यथावत राखिएको बताए ।
आजै बसेको एनआरएनए अष्ट्रेलियाको बैठकले निर्वाचन सम्पन्न गर्न डिल्ली ढकाललाई राष्ट्रिय निर्वाचन संयोजक र उपसंयोजक राजु उपाध्याय तोकिएको छ । यसै गरी न्यूसाउथवेल्समा राजु मानन्धर, भिक्टोरिया हेम दुलाल, क्वीन्सल्याण्ड सुरेश खत्री, साउथ अष्ट्रलिया अंकुर उपाध्याय, वेष्टर्न अष्ट्रेलिया रविन वर्तौला, तास्मानिया कन्चन अर्याल र एसिटी कृष्ण सुवेदी र नर्दन टेरेटोरी दिनेश सापकोटा निर्वाचन राज्य निर्वाचन संयोजक तोकिएका छन् । अन्य सदस्यहरु निर्वाचन आयोग र एनआरएनले थप गर्ने बताइएको छ ।
प्रकाशित मिति : २८ बैशाख २०८२, आईतवार १६:२२












