भाञ्जा स्टोर्स एण्ड हाउसका बरकत अलि मियाँ विरुद्ध राजस्व चुहावटको मुद्दा
२५ वैशाख, काठमाडाैँ । राजस्व अनुसन्धान विभागले भाञ्जा स्टोर्स एण्ड हाउसका बरकत अलि मियाँ विरुद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा राजस्व चुहावटको मुद्दा दर्ता गरेको छ । तिन करोड एघार लाख बत्तिस हजार पाँचसय बयसठ्ठी रुपैयाँ असुलउपर गर्नुपर्ने मागसहित विभागले मुद्दा दर्ता गरेको प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेले जानकारी दिनुभयो ।
राजस्व चुहावट सम्बन्धी कसूरमा अनुसन्धान तथा तहकिकात सम्पन्न गरी भाञ्जा स्टोर्स एण्ड हाउस (स्था.ले.नं. 305667577) का प्रोप्राइटर बरकत अलि मियाँ विरुद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, 2052 (संशोधन सहित) को दफा 20(६) बमोजिम मुद्दा दायर गरेको विभागले जनाएको छ ।
जिल्ला रुपन्देही, बुटवल उपमहानगरपालिका, वडा नं. – 7, राधाकृष्ण पथस्थित भाञ्जा स्टोर्स एण्ड हाउस (स्था.ले.नं. 305667577) का प्रोप्राइटर बरकत अलि मियाँले करदाताले व्यापारिक मालवस्तुको खरिदमा मू.अ.कर कट्टी दाबी गर्ने तर बिक्रीमा मू.अ.कर असुल नगरी वा बिक्री बिजक जारी नगरी बिक्री गरेको साथै कष्मेटिक्सजन्य मालवस्तुहरुको खरिद बिल बिजक तथा भन्सार पैठारीको श्रोत बिना चोरी पैठारी गरी ल्याईएका मालवस्तु बिक्री बितरण गरेको विभागले जनाएको छ ।

मियाँ पत्राचार गर्दा समेत उपस्थित नभएको र पक्राउ पूर्जी जारी गरी खोज्दा समेत नभेटेको विभागले जनाएको छ । मियाँलाई ऐ. ऐनको दफा 2(छ1) बमोजिम भन्सार चोरी पैठारीतर्फको रु. 75,93,557।-, मूल्य अभिवृद्धि करतर्फको रु. 23,27,459।- र आयकरतर्फको रु. 56,45,265।- गरी जम्मा रु. 1,55,66,281।- (अक्षरुपीः एक करोड पचपन्न लाख छैसठ्ठी हजार दुईसय एकासी रुपैयाँ मात्र) बिगो कायम गरी ऐ. ऐनको दफा २३ को उपदफा (१) बमोजिम बिगो जफत वा असुल गर्ने प्रावधान अनुसार बिगो असुल उपर गरी बिगोको शत प्रतिशत जरिवाना रकम रु. 1,55,66,281।- (अक्षरुपीः एक करोड पचपन्न लाख छैसठ्ठी हजार दुईसय एकासी रुपैयाँ मात्र) गरी जम्मा रु. 3,11,32,562।- (अक्षरुपीः तिन करोड एघार लाख बत्तिस हजार पाँचसय बयसठ्ठी रुपैयाँ मात्र) असुल उपर गर्न तथा ऐ. ऐनको दफा २३ को उपदफा (१)(ख) बमोजिम हदैसम्मको कैद सजायको मागदाबी लिई आज मिति 2082/01/25 गते सम्मानित उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरिएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार १९:०६









