२५ माघ २०८२, आईतवार | Sun Feb 8 2026

पूर्वराजादेखि जनप्रतिनिधिसम्मको सम्पत्ति छानबिन हुनुपर्छः प्रकाश ज्वाला

२५ वैशाख, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले पूर्वराजादेखि, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायतकाे सम्पत्ति छानबिन हुनुपर्ने बताउनुभएकाे छ । प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि बोल्दै उहाँले २०४७ पछि सत्ताका विभिन्न ओहदामा पुगेका पूर्वराजादेखि, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायत व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न र सत्य तथ्य सार्वजनिक गर्नका लागि संवैधानिक तथा कानुनी प्रबन्धका साथ उच्चस्तरीय शक्तिशाली सम्पत्ति छानबिन आयोग गठन गर्न आग्रह गर्नुभयाे ।

‘स्रोत देखाउन नसक्ने भ्रष्टाचारीहरूलाई कारबाही गर्ने आँट गर्नुपर्छ। देशको अहिलेको प्रमुख समस्या बेरोजगारी र कुशासन हो। बेरोजगारीको कारण लाखौं नेपाली युवाहरू, हाम्रो बौद्धिक र ऊर्जाशील जनशक्ति विदेश पलायन भइरहेको छ। आजका समस्याको समाधान रोजगारी र सुशासन हो,’ उहाँले भन्नुभयाे।

साथै, ज्वालाले संविधान पुनरावलोकन गरेर कार्यान्वयनमा देखा परेका समस्या पहिचान गरी समाधान खोज्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो, “यो नीति तथा कार्यक्रममा संविधान संशोधनका बारेमा एउटा लाइन मात्र उल्लेख गरिएको छ, तर त्यसका लागि ठोस कार्ययोजना प्रस्तुत गरिएको छैन । राष्ट्रिय सहमतिकासाथ जनमुखी र अग्रगामी एजेन्डा सम्बोधन हुनेगरी संविधान संशोधन गरौँ भन्ने प्रस्ताव छ ।”

सांसद ज्वालाले राष्ट्रिय सहमतिकासाथ जनहितका लागि संविधान संशोधन गर्नुपर्नेमा जोड दिनुभयो । सङ्घीयता सबलीकरणका लागि खर्चिलो निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने, संवैधानिक आयोगसहितका संरचना घटाउने, महिला, दलितलगायत पछाडि पारिएका वर्ग तथा समुदायको अधिकार सुनिश्चित गर्नेगरी संविधानलाई समय सान्दर्भिक र जनमुखी बनाउने उद्देश्यले संशोधन प्रक्रिया अघि बढाउन विशेष जोड दिनुपर्ने उहाँको भनाइ छ ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार १६:१५