हरि ढकालकाे प्रश्नः कृषिमा लगानी बढाइने भनिएको १० वर्ष भयो, तर खोइ लगानी ?
२५ वैशाख, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले कृषिमा लगानी बढाइने भनिएको १० वर्ष भएपनि कार्यान्वयन नआएको बताउनुभएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै ढकालले विगतमा पटकपटक दोहोरिएका नीति तथा कार्यक्रमका योजनाहरू हालसम्म लागू नभएको विभिन्न उदाहरणसहित प्रस्तुत गर्नुभयो ।
उहाँले भन्नुभयो, “यो नीति तथा कार्यक्रममा कतिपय विषयवस्तु पुराना दोहोरिएका छन् । खाद्यवस्तुमा दुई वर्षभित्र आत्मनिर्भर हुनेगरी कृषिमा लगानी बढाइने भनिएको १० वर्ष भयो, तर खोइ लगानी ?”, उहाँले प्रश्न गर्नुभयो ।
सांसद ढकालले थप उदाहरण दिँदै भन्नुभयो, “आव २०७५/७६ को नीति तथा कार्यक्रममा बुँदा नं ३२ मा मछली उत्पादनमा आत्मनिर्भर हुने, अर्गानिक नेपाल बनाउने योजना तत्काल सुरु गर्ने भनिएको थियो । अहिले माछा किसानको हालत के छ ? विषाक्त माछाहरूले बजार पाएका छन्, तर मुलुकमा उत्पादन भएको माछा बजारको सुनिश्चितता छैन । जैविक मलको उत्पादन तथा अर्गानिक खेतीमा जोड दिने कुरा पटकपटक भनिएको छ, तर सुझाव दिइएका विषय कार्यान्वयनमा आएका छैनन् ।”
प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार १५:५६








