आज फेरि बैंकिङ प्रणालीबाट ३५ अर्ब खिच्दै राष्ट्र बैंक
२४ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फेरि बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ तान्दैछ। अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत् राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको जनाएको छ । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। यसको साँवा तथा ब्याज भुक्तानी जेठ १४ गते हुनेछ ।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।
प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार १४:२०












