ललितपुरमा कार ठोक्किँदा बिजुलीको पोल भाँचियो , ३ जना घाइते
२२ वैशाख, काठमाडौं । ललितपुरको हात्तीवनमा कार अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएको छ । ललितपुर महानगरपालिका-२८ स्थित सातदोबाटो-हात्तीवन सडकको ओरालोमा गएराति तीव्र गतिको कार बिजुलीको पोलमा ठोक्किँदा तीनजना घाइते भएका जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिनुभयो ।
घाइते हुनेहरुमा म्याग्दी घर भएका ४० वर्षीय अमरध्वज पौडेल, ललितपुर गोदावरीका ३२ वर्षीय विशाल विक र सोही ठाउँका २९ वर्षीय मोसेफ लामिछाने छन् । उनीहरुको पाटन अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये विशालको अवस्था गम्भीर रहेको र उनको आईसीयूमा उपचार भइरहेको एसपी जोशीले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान भइरहेको उहाँले बताउनुभयो।
गएराति ११ः१० बजेतिर बा १५ च ७७६५२ नम्बरको गाडी अनियन्त्रित भएपछि बिजुलीको पोलमा ठोक्किएको थियो। कार ठोक्किएर बिजुलीको पोल नै भाँचिएको छ। भाँचिएको पोल र तार सडकमा लत्रिएको कारण त्यो क्षेत्रमा सडक नै अवरुद्ध भएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार ११:४०









