हामीलाई एमसीसीले आर्थिक भार थप्यो, यसले आर्थिक सकंट गहिरिन्छः पूर्व अर्थमन्त्री पाण्डे
१८ वैशाख, ललितपुर । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) रोकिँदा नेपाल झन् अप्ठ्यारोमा परेको बताउनुभएको छ । सेन्टर फर पोलिसी रिसर्च र जनआस्था साप्ताहिकले संयुक्त रूपमा ललितपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पूर्व अर्थमन्त्री पाण्डेले ब नेपालका लागि एमसीसी निल्नु न ओकल्नु बनेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले एमसीसी रोकिनु नेपालका लागि कास्टिङ हो । अहिले अमेरिकाले दिने भनेको ५५ करोड डलरको करिब ७५ अर्ब रुपैयाँ नेपाली पैसा रोकिएको छ । त्यसमा नेपालले १४ अर्ब हाल्ने भनेको थियो । तर, २७ अर्ब पुग्दा १०२ अर्बको परियोजना रोकिने भयो । अहिलेसम्म तीनवटा ठेक्का लागेको छ। तीनवटा ठेक्कालाई मात्रै पनि नेपालले लगानी गर्नुपर्ने बाध्यता आएको छ । एमसीसी कार्यान्वयनको १९ महिना सकियो । नेपालले अबको ३ वर्षमा प्रतिवर्ष ३४ अर्ब निकाल्नु पर्छ।’
पाण्डेले यसअघि लागिसकेका तीनवटा ठेक्काको काम अघि बढाउनै पर्ने बाध्यतामा नेपालसमू रहेको पनि उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘अब ती लागिसकेका ठेक्का रद्द गर्न सकिँदैन । त्यसो गरे ठेकेदार अन्तर्राष्ट्रिय अदालत जान्छ। ठेकेदारलाई नेपालले क्षतिपूर्ति दिनुपर्छ । जसो गर्दा पनि हामीलाई एमसीसीले आर्थिक भार थप्यो।’

उहाँले अमेरिकाले अरू देशलाई धेरै कर थोपर्दा नेपाललाई फाइदा हुन्छ भन्ने भ्रम पनि पाल्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अमेरिकाले अरूलाई कर थोपर्दा नेपाललाई केही फाइदा हुन्न । हाम्रो उत्पादन नै नभएपछि केही फाइदा हुँदैन ।
हामी नेपाली त गफाडी छौँ, कागजको लाभले केही हुँदैन । तत्काल हामीले कतिवटा उत्पादन अमेरिका पठाउन उद्योग खोल्छौँ ? हामी व्यवहारिक हुन जरुरी छ। आत्मनिर्भरतामा देश हिँड्यो भनौँला तर त्यसले केही गर्दैन । हामी सजिलोसँग पैसा कमाउन खोज्छौँ। उद्योग खोलेर, उत्पादन बढाएर, मिहिनेत गरेर कमाउने बाटोमा हामी छैनौँ।’
यस्तै सोही कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव केशव आचार्यले अमेरिकी सहयताका सकारात्मक र नकारात्मक दुबै प्रभाव रहने बताउनुभयो । उहाँले अहिले एमसीसीको सहयोग कटाैति हुँदा पनि केही नकारात्मक असर पर्ने बताउनुभयो ।
उहाँले मध्यपहाडी लोकमार्ग र तामाकोसी जलविधुल नेपालकै इन्जिनियर र लगानीमा बनेको स्मरण गर्दै खाली विदेशीको मुख ताक्नुपर्छ भन्ने अवस्था नरहेको बताउनुभयो । दुबै सफल र नमुना परयोजना नेपाल अाफैँले गरेको बताउँदै यहाँले भन्नुभयो, ‘हामी गर्न सक्छौं । अस्कल कलेज जोकोहीले नाम लिन्थे। पुल्चोक इन्जिनियरिङ कलेज पनि छ उदाहरण । जहाँका विद्यार्थी सजिलोसँग विदेशमा पढ्न सक्थे ।’

उहाँले सहयोगमा नेगोसियट गरेर ऋण नै भए पनि लिएर देशको विकास गर्नुपर्नेमा जोड दिनुभयो । नेपालमा अहिले राजनीतिक नेतृत्वको दूरदृष्टि नभएकोले समस्या भएको बताउँदै त्यसतर्फ पनि सबैले ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा सीताराम भट्टराई ‘अमेरिकी सहयता कटाैती र नेपालमा त्यसको प्रभाव’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार १९:०४








