१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

वित्तीय अवस्था कमजोर रहेका संस्थाले साधारण शेयर बिक्री गर्न नपाउने

२५ पुस, काठमाडाैँ । नेपाल धितोपत्र बोर्डले क्रेडिट रेटिङमा न्यूनतम अङ्क पाउने सङ्गठित संस्थालाई प्रारम्भिक सार्वजनिक निष्कासन गर्न रोक लगाउने भएको छ । मंगलबार बोर्डले  सार्वजनिक गरेको नयाँ व्यवस्थाअनुसार साविकका क्रेडिट रेटिङ संस्थाबाट न्यूनतम ग्रेड प्राप्त गरेका संस्थाले समेत प्रारम्भिक सार्वजनिक निष्कासन गर्न सक्ने व्यवस्थालाई संशोधन गरी वित्तीय अवस्था कमजोर रहेका सङ्गठित संस्थाले साधारण शेयर बिक्री गर्न नपाउने व्यवस्था गरेको छ ।

पछिल्लो दिनमा कमजोर वित्तीय विवरण भएका कम्पनीले धमाधम साधारण शेयर बिक्री गरेपछि बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४ मा संशोधन गरी नयाँ व्यवस्था गरिएको हो । कमजोर वित्तीय विवरण भएका कम्पनीको सेयरका कारण लगानीकर्ताको लगानी समेत जोखिममा परेपछि बोर्डले नयाँ व्यवस्था गरेको हो ।

प्रारम्भिक सार्वजनिक निष्कासनको प्रिमियम निर्धारण गर्दा नेटवर्थको चार गुणासम्म कायम गर्न सक्ने व्यवस्था रहेकोमा सोमा संशोधन गरी नेटवर्थको दुई गुणासम्म कायम गर्न स्क्ने व्यवस्था गरिएको छ । मुद्रा तथा पूँजी बजारमा देखिएका समस्याको समग्र मूल्याङ्कन गरी वित्तीय स्थायित्व एवम् लगानीका लागि स्रोत व्यवस्थापनसम्बन्धी सुझाव कार्यदलको प्रतिवेदन कार्यान्वयनका लागि त्यस्तो व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

प्रकाशित मिति : २५ पुष २०७५, बुधबार ११:३१