रेशम चौधरीलाई पक्राउ गर्न अनधिकृत पत्र लेख्ने विष्टलाई चार दिन हिरासतमा राख्न अनुमति
१९ वैशाख, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गराउन सर्वोच्च अदालतबाट अनधिकृत पत्र लेख्ने शाखा अधिकृत महिमानसिंह विष्टलाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
शुक्रबार जिल्ला अदालत काठमाडौंले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिनुभयो । बुधबार पक्राउ परेका विष्टलाई शुक्रबार म्याद थपका लागि काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको थियो ।
विष्टले रेशमलाई पक्राउ गर्न डिल्लीबजार कारागारको नाममा पत्र लेखेर पठाएका थिए । लगत्तै प्रहरीले नियन्त्रणमा लिएर उहाँलाई कारागार बुझाएको थियो । सर्वोच्चले महिमान विष्टको पत्र अनधिकृत भएको भन्दै रेशमलाई रिहा गर्न अर्को पत्र पठाएको थियो । त्यसपछि रेशम थुनामुक्त हुनुभएकाे थियाे । सर्वोच्चले विष्टमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा ८४, ८७ र २७६ अनुसार अनुसन्धान र कारबाहीको माग गरेको छ।
प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार १८:२८












