२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

छुट्ला है ! सान्भि इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

१९ वैशाख, काठमाडौं । सान्भी इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि गत वैशाख ५ गतेदेखि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले जारी पूँजी ८८ करोड रुपैयाँको १० प्रतिशत अर्थात ८ करोड ८० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ८ लाख ८० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो।

सो सेयर खरिदका लागि ईलाम जिल्लाको ईलाम नगरपालिका वडा नं. १० (साविकको गोदक गा.वि.स. का १ देखि ९ नम्बरसम्मका वडाहरु), माईजोगमाई गाउँपालिका वडा नं. १ (साविकको नयाँ बजार गा.वि.स.का १ देखि ४ र ६ देखि ९ नम्बर वडाहरु) माई गोजमाई गाउँपालिका वडा नं. ३ र ४ (साविकको नाम्सालिङ्ग गा.वि.स.का १ देखि ९ नम्बरसम्मका वडाहरु तथा नयाँबजार गा.वि.स.को वडा नं. ५०, सूर्योदय नगरपालिका वडा नं. १० (साविकको फिक्कल गा.वि.स. का ६ देखि ९ नम्बरसम्मका वडाहरु) तथा सूर्योदय नगरपालिका वडा नं. ११ (साविकको पञ्चकन्या गा.वि.स. का २, ६, ८ नम्बर वडाहरुका स्थायी बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने २ करोड ९१ लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका २ लाख ९१ हजार कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले आयोजना स्थल, नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु र नबिल बैंकको फिक्कल शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : 09:46