गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको नाफा ३८१२ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?
१६ वैशाख, काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सले २ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८१२.८४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सको खुद नाफा ७ लाख १ हजार रुपैयाँ मात्र थियो।
समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क ९९०.४४ प्रतिशतले बढेर १९ करोड ४८ लाख रुपैयाँ पुगेकाे छ । अघिल्लो आवमा कम्पनीले १ करोड ७८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियाे । कम्पनीको कुल आम्दानी पनि ५ करोड ४२ लाखबाट बढेर २५ करोड ५१ लाख पुगेको छ । समीक्षा अवधिसम्म कम्पनीले खुद दाबी भुक्तानी २११.१३ प्रतिशत बढेर १३ करोड ५३ लाख रुपैयाँ भुक्तानी गरेको छ ।
७५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ती कोषमा २९ लाख ३५ हजार रुपैयाँ, रिटेन्ड अर्निङ्गमा १ करोड ९० लाख रुपैयाँ र अन्य इक्विटीमा ३२ लाख ५६ हजार रुपैयाँ सञ्चित छ।
नाफासँगै इन्स्योरेन्सको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ४ रुपैयाँ ७० पैसा बढेर ४ रुपैयाँ ८८ पैसा पुगेको छ। भने प्रतिशेयर नेटवर्थ १०२ रुपैयाँ ९३ पैसा, मूल्य आम्दानी अनुपात ५०७.९१ गुणा रहेको छ।
प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलवार १०:२०