आम्दानीसँगै घट्यो हाथवे इन्भेष्टमेन्टको नाफा, प्रतिसेयर आम्दानी कति ?
१६ वैशाख, काठमाडौं । हाथवे इन्भेष्टेमन्ट नेपाल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ३ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४७.६७ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ७ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिसम्म कम्पनीले १० करोड २१ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले २३ करोड ४३ लाख रुपैयाँ आम्दानी गरेको थियो । आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १० करोड ४४ लाख रुपैयाँ कुल खर्च गरेको कम्पनीले चालु आवको समीक्षा अवधिसम्म भने ५ करोड ८३ लाख मात्रै कुल खर्च गरेको छ ।
१ अर्ब ४१ करोड ५७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग २८ करोड ६२ लाख रुपैयाँ रहेको छ भने फेर भ्यालु रिजर्भ ५१ करोड ५७ लाख रुपैयाँ रहेको छ।
नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ४ पैसा घटेर १ रुपैयाँ ८५ पैसामा सीमित भएको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ७८ रुपैयाँ ३३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७४०.२६ गुणा रहेको छ।
प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलवार ०९:३७