१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

नवनियुक्त शिक्षामन्त्री पन्तद्धारा आन्दोलनरत शिक्षकलाई वार्तामा आउन आग्रह

१२ वैशाख, काठमाडाैँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकलाई वार्तामा आउन आग्रह गर्नुभएकाे छ । बिहीबार शपथग्रहण गरेसँगै मन्त्री पन्तले शुक्रबार विज्ञप्तिमार्फत आन्दोलनरत शिक्षकहरूलाई वार्ताका लागि आह्वान गर्नुभएकाे हाे ।

मन्त्री पन्ताद्धारा जारी विज्ञप्तिमा भनिएकाे छ, ‘शिक्षकहरूसँग विगतमा झै निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न वार्ताका लागि नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिलाई मन्त्रालयको तर्फबाट यथाशीघ्र वार्ता र संवादका लागि अनुरोध गर्दछु, विधेयक संसद्‌मा पेश हुने, छलफल हुने र स्वीकृत हुने निश्चित विधायकी एवं कानूनी बन्दोबस्त रहेका छन् र सबैलाई यसको जानकारी पनि छँदैछ ।’

विज्ञप्तिमा शिक्षक प्रतिनिधिहरूसँगको छलफल र परामर्शबाट विधेयकको मस्यौदा तयार गरिएकाले विद्यालय शिक्षा विधेयक चाँडै जारी होस् भन्ने शिक्षक तथा कर्मचारीको चासो र अपेक्षा रहनु स्वभाविक रहेको भनिएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार १४:०२