२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025

छुट्ला है ! राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

१२ वैशाख, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज (वैशाख १२ गते) अन्तिम दिन रहेको छ। बैंकले वैशाख ७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आजसम्म मात्रै आवेदन दिने पाइनेछ ।

बैंकले निष्काशन गरेको ७ वर्ष अवधिको वार्षिक ७ प्रतिशत ब्याजदर पाइने ‘७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८’ मा वैशाख २१ गतेसम्म आवेदन दिन सकिने गरी म्याद थप गरेपनि, मागभन्दा बढी आवेदन परेका कारण निष्काशन बन्द गरिने जनाएको छ ।

बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। सोमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँड गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणमा बाँडफाँड गरिनेछ।

सर्वसाधारणमा बाँडफाँडगरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताले ९ लाख ५० हजार कित्ता ऋणपत्रका लागि आवेदन दिन सक्नेछन्।सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।

बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार ०९:२०