१ जेष्ठ २०८२, बिहीबार | Thu May 15 2025

३ विकास बैंक र २ फाइनान्स कम्पनी राष्ट्र बैंकको कारबाहीमा, यस्तो छ कारण

११ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ वटा विकास बैंक र २ वित्त कम्पनीहरूलाई कारबाही गरेको छ। राष्ट्र बैंकले मुक्तिनाथ विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, पोखरा फाइनान्स र जानकी फाइनान्सलाई कारबाही गरेको हो ।

राष्ट्र बैंकको स्थलगत निरीक्षणका क्रममा मुक्तिनाथ विकास बैंकका तत्कालीन सञ्चालक समिति अध्यक्ष भरतराज ढकाल भवन निर्माण समितिमा संयोजकको रूपमा संलग्न रहेको पाइएपछि बैंकले सो कार्यलाई निर्देशिका विपरीत मानेर सचेत गराएको हो।

नारायणी डेभलपमेन्ट बैंकले राष्ट्र बैंकबाट तोकिएको न्यूनतम चुक्ता पूँजी कायम नगरेको, तोकिएको सीमा भन्दा बढी निक्षेप संकलन गरेको, एकल ग्राहक कर्जा सीमा नाघेर कर्जा प्रवाह गरेको तथा पूँजीकोष अनुपात पनि कायम गर्न नसकेको पाइएपछि, बैंकको सञ्चालक समितिलाई २०८२ असार मसान्तभित्र सुधार गर्न राष्ट्र बैंकले लिखित आदेश दिइएको छ।

सालपा विकास बैंकलाई पनि तोकिएको चुक्ता पूँजी कायम नगरेको तथा पूर्व निर्देशनको कार्यान्वयन नगरेको भन्दै राष्ट्र बैंकले कडा चेतावनी दिएको छ। जानकी फाइनान्सलाई पुँजीकोष अनुपात नियामकीय मापदण्डअनुसार नरहेको भन्दै शीघ्र सुधारात्मक कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।

साथै, पोखरा फाइनान्सलाई राष्ट्र बैंकले अनिवार्य मौज्दात रकम कायम नगरेको तथा पूर्व सीईओ रविचन्द्र गुरुङले आफ्नो जिम्मेवारी पूरा नगरेको तथा स्पष्टीकरण सोध्दा चित्तबुझ्दो जवाफ नदिएकाले कारवाही गरिएको जनाएको छ ।

कम्पनीले २०८१ माघ १३ गतेदेखि २६ गतेसम्मको अवधिमा नियामकिय व्यवस्था अनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात रकम कायम नगरेकाले विद्यमान व्यवस्था बमोजिम ४६ हजार ७१८.२३ रकम जरीवाना लगाएको छ । त्यस्तै, पूर्व सीईओ रविचन्द्र गुरुङले समग्र व्यवस्थापनको प्रमुख जिम्मेवारी वहन गर्ने व्यक्तिका रूपमा नियामक निर्देशन पालना नगरेको, र राष्ट्र बैंकले सोधेको स्पष्टिकरण पनि असन्तोषजनक भएको जनाइएको छ। यही आधारमा उहाँलाई राष्ट्र बैंक ऐन, दफा १०० को उपदफा २ (ग) अनुसार ५ लाख रुपैयाँ जरिवाना गरिएको हो। यस्तै कम्पनीलाई नयाँ निक्षेप तथा कर्जा प्रवाहमा समेत रोक लगाइएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार ११:३०