आज पनि बजारबाट ३५ अर्ब झिक्दै राष्ट्र बैंक
१० वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ झिक्न लागेको छ । अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत् राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको जनाएको छ । यसका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । यसको साँवा तथा ब्याज भुक्तानी वैशाख ३१ गते हुनेछ ।
निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्नेछन् । राष्ट्र बैंकले नियमित रुपमा सातामा दुई पटक आइतबार र बुधबार निक्षेप संकलन उपकरणमार्फत् बजारबाट पैसा झिक्दै आएको छ । सोही क्रममा आज पनि पैसा निकाल्न लागेको हो ।
प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार १०:४२












