ट्याक्सी चालकका मोबाइल लुट्ने तीन जना पक्राउ
८ वैशाख, काठमाडौं । मोबाइल लुटपाट गर्दै हिंड्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले तीन जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो।
पक्राउ पर्नेहरूमा सिन्धुलीको सुनकोशी गाउँपालिका–१ घर भएका काठमाडौं जडीबुटी बस्ने १८ वर्षीय शिखरजङ थापा भनिने नवराज सुनुवार, धनुषाको तारापटी सिर्सिया गाउँपालिका–६ घर भएका काठमाडौं बूढानीलकण्ठ बस्ने १८ वर्षकै राजनिष्ट यादव र रौतहटको गरुडा नगरपालिका–२ घर भएका कपन बस्ने २७ वर्षीय सुरेश ठाकुर छन् ।
उनीहरू ५ वैशाखको दिउँसो करिब ४ बजेतिर बसुन्धरामा चितवन घर भएका प्रेम तामाङको बा २ ज ३४५८ नम्बरको ट्यास्की रोक्दै ठमेल जान भनेर सोधखोज गरेका थिए । त्यसपछि फोन गरौं भन्दै ट्याक्सी चालकको मोबाइल लिएर फरार भएको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराले बताउनुभयो ।
चैत १७ गते धुम्बाराहीमा बा २ ज ९६७१ नम्बरको ट्याक्सी चालक कुलबहादुरको मोबाइल त्यसैगरी लुटेको अनुसन्धानबाट खुलेको एसपी बोहराले बताउनुभयो । त्यस्तै, १९ चैतमा धुम्बाराही पिपलबोटबाटै बा २ ज ६४८० नम्बरको ट्याक्सीका चालक राजकुमार तामाङको मोबाइल लुटेर फरार भएका थिए ।
सोही दिन राति साढे ९ बजेतिर बूढानीलकण्ठको साप्रेढुंगाबाट बा २ ज ४३०३ नम्बरको ट्याक्सीका चालक राजेशबहादुर बिसीको मोबाइल लुटेर फरार भएको प्रहरीले जनाएको छ । २३ चैतको चाबहिलको ओम हस्पिटल नजिकबाट दुर्गा शाक्य नाम गरेका व्यक्तिको मोबाइल लुटेको प्रहरीले भनाइ छ । उनीहरूबाट चोरीका चार थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले तीन जनामाथि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार १३:२२