५ माघ २०८२, सोमबार | Tue Jan 20 2026

पाथीभरा जाँदै गरेको बलेरो गाडीमा आगलागी हुँदा चारको मृत्यु, दुई जना घाइते

८ वैशाख, ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको बलेरो गाडीमा आगलागी हुँदा चार जना यात्रुको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयको अनुसार मे१च ३०११ नम्बरको बलेरो गाडीमा फुङ्लिङ नगरपालिका–१० सेवारोचोकमा एक्कासि आगलागी भएको थियो । आगलागीमा जलेर मृत्यु भएकाको पहिचान खुल्न बाँकी रहेकोे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिनुभयो ।

आज बिहान करिब ५ः०० बजे विद्युत्को पोलबाट चुँडिएको तार सडकमा झरेको र उक्त तारमा गाडी अल्झिँदा अचानक आगो लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

सूचना अधिकारी बस्नेतका अनुसार आगलागीको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक रवि रावलको कमाण्डमा १५ जनाको टोली तत्काल घटनास्थलमा पुगेको थियो ।

घाइतेलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल पठाइएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ भने आगो पूर्णरुपमा नियन्त्रणमा ल्याइएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार ०८:५३