माछापुच्छ्रे बैंकको नाफा १ अर्ब १० करोड, प्रतिसेयर आम्दानी कति ?
७ वैशाख, काठमाडाैं । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले १ अर्ब १० करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.८९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८५ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.४१ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १७.६४ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १३.०६ प्रतिशत र सञ्चालन मुनाफा ५२.७६ प्रतिशत बढेको छ। ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ६ अर्ब ५३ करोड ४६ लाख रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ७ करोड ७ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ३६ पैसा रहेको छ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ८४ पैसा बढेर १२ रुपैयाँ ६५ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १७.८६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ २० पैसा रहेको छ।
प्रकाशित मिति : ७ बैशाख २०८२, आईतवार १३:२१