किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद सापकोटा भ्रष्टाचारी ठहर दुई महिना १५ दिन कैद र ५० हजार जरिवाना
२९ मङ्सिर, काठमाडौँ । किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत ध्रुवप्रसाद सापकोटा भ्रष्टाचारी ठहर भएका छन । विशेष अदालतले उहाँलाई भ्रष्टाचारी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेको छ ।
बिहीबार विशेष अदातलका न्यायाधीशहरू रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको संयुक्त इजलाशले सापकोटालाई घुस काण्डमा दोषी ठहर गरेको हो । अदालतले सापकोटालाई भ्रष्टाचारी ठहर गर्दै दुई महिना १५ दिन कैद र ५० हजार जरिवाना गरेको छ ।
सपकोटाले अछामको मेल्लेख गाउँपालिकाकमा काम गर्दा गरेको एउटा कामको मुद्दा मिलाइदिन अख्तियार दुरूपयोग अनुसन्धान आयोगका अधिकृतका लागि घुस बोकेर गएका थिए । सो अवस्थामा आयोगको टोलीले सापकोटालाई त्यही नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।
मेल्लेख गाउँपालिकाको मेसिनरी सामान खरिदसम्बन्धी उजुरीको अनुसन्धानका क्रममा स्थलगत मुचुल्का र आरोपीको बयानसमेत भइसकेको थियो । अनुसन्धानको क्रममा रहेको विषयसँग सम्बन्धित कागजात बुझाउन आएको भनी अनुसन्धान अधिकृतलाई कागजातसहितको खाम सापकोटाले बुझाउन खोजेका थिए ।

अनुसन्धान अधिकृतले आफैँले खाम खोल्न आग्रह गरेका थिए । सापकोटाले बोकेको हरियो रङ्गको झोलाभित्र रहेको पहेँलो खाममा ३१ थान कागजात र अर्को खामभित्र रु एक हजार दरको ९६ वटा र पाँच सय दरको आठ थान गरी रु एक लाख रकम भेटिएको थियो ।
अनुसन्धान अधिकृतले यो केको पैसा हो रु भनी प्रश्न गर्दा प्रमुख प्रशासकीय अधिकृत सापकोटाले मुद्दा मिलाइदिन भनी स्वेच्छाले ल्याएको बताएका थिए ।
यो पनि पढ्नुहोस्
जो खाममा घुस बोकेर अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयमै पुगे
प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार ११:३९