१ जेष्ठ २०८२, बिहीबार | Fri May 16 2025

सान्भि इनर्जीको आईपीओमा आजदेखि आवेदन दिन सकिने

५ वैशाख, काठमाडाैं । सान्भि इनर्जी लिमिटेडले आज (वैशाख ५ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेकाे छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेकाे हाे ।

कम्पनीले जारी पूँजी ८८ करोड रुपैयाँको १० प्रतिशत अर्थात ८ करोड ८० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ८ लाख ८० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो।

सो सेयर खरिदका लागि ईलाम जिल्लाको ईलाम नगरपालिका वडा नं. १० (साविकको गोदक गा.वि.स. का १ देखि ९ नम्बर सम्मका वडाहरु), माईजोगमाई गाउँपालिका वडा नं. १ (साविकको नयाँ बजार गा.वि.स.का १ देखि ४ र ६ देखि ९ नम्बर वडाहरु) माई गोजमाई गाउँपालिका वडा नं. ३ र ४ (साविकको नाम्सालिङ्ग गा.वि.स.का १ देखि ९ नम्बरसम्मका वडाहरु तथा नयाँबजार गा.वि.स.को वडा नं. ५), सूर्योदय नगरपालिका वडा नं. १० (साविकको फिक्कल गा.वि.स. का ६ देखि ९ नम्बरसम्मका वडाहरु) तथा सूर्योदय नगरपालिका वडा नं. ११ (साविकको पञ्चकन्या गा.वि.स. का २, ६, ८ नम्बर वडाहरुका स्थायी बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने २ करोड ९१ लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका २ लाख ९१ हजार कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० र अधिकतममा २० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन बन्द छिटोमा वैशाख १९ गते र ढिलोमा जेठ ३ गते हनेछ । वैदेशिक रोजगारीमा रहेका लागि भने आईपीओ निष्कासन बन्द वैशाख १९ गते हुनेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले आयोजना स्थल, नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु र नबिल बैंकको फिक्कल शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार ०९:१५