१४ बैशाख २०८२, आईतवार | Sun Apr 27 2025

एनआईसी एशिया बैंकको ऋणपत्र बाँडफाँड

२ वैशाख, काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेडको ऋणपत्रको बाँडफाँड भएको छ । बैंकले गत चैत २५ गतेदेखि २८ गतेसम्म निष्काशन गरेको ५ अर्ब रुपैयाँ बराबरको १० वर्ष अवधिको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०९१’ नामक ऋणपत्र बाँडफाँड भएको हो ।

रितपूर्वक आवेदन दिएकाहरुलाई चैत ३१ गते उक्त ऋणपत्र बाँडफाँड गरिएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। सोमध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँड गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणमा बाँडफाँड गरिनेछ। सर्वसाधारणमा बाँडफाँड गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात १ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको थियो ।

बाँडफाँडमा परेको ऋणपत्रको विवरण धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट वा सिडिएस एण्ड क्लियरिङबाट सञ्चिालिन वेबसाइटमार्फत हेर्न सकिनेछ ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलवार १०:१७