१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

माछापुच्छ्रे बैंकको बीसौं वार्षिक साधारणसभा सम्पन्न, शेयरधनीलाई  चुक्ता पूँजीको १० % लाभांश  दिने

२३ पुस, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको बीसौं वार्षिक साधारणसभा शुक्रवार पोखरामा भएको छ । साधारणसभाले बैंकको आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीलाई हालको चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारण सभाले आर्थिक वर्ष २०७५/७६ को लागि जीपी राजवाहक एण्ड कम्पनीलाई लेखापरीक्षक नियुक्ति गर्ने निर्णय पनि गरेको छ ।साधारण सभाले संस्थापक समूहका शेयरधनीको तर्फबाट डा. विरेन्द्रप्रसाद महतो, रोशन केसी र गोपीकृष्ण न्यौपानेलाई सञ्चालक समितिको सदस्य पदमा निर्विरोध निर्वाचित गरेको छ ।

साधारणसभा सम्पन्न भएपश्चात् बसेको सञ्चालक समितिको बैठकले डा. विरेन्द्रप्रसाद महतालाई बैंकको सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब २४ करोड ९६ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिशेयर आम्दानी १५ रुपैयाँ ८१ पैसा कायम गरेको थियो । बैंकको चुक्तापूँजी ८ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा १ अर्ब ११ करोड रुपंयाँ सञ्चित छ ।

बैंकले आव २०७५/७६ को पहिलो त्रैमासिकसम्ममा ३७ करोड १६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । २०७५ असोज मसान्तसम्ममा ७७ अर्ब ९८ करोड रुपैयाँ निक्षेप परिचालन गरी ७१ अर्व ८१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना ८८ वटा शाखा लगायत २ एक्सटेन्सन काउन्टर र ५२ शाखारहित बैंकिङ सेवा समेत गरी १ सय ४२ स्थानबाट ग्राहक महानुभावमा सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ । बैंकको देशभर १ सय ८ वटा एटीएम सञ्चालनमा रहेको छ ।

प्रकाशित मिति : २३ पुष २०७५, सोमबार ११:४६