तीनकुने घटनामा पूर्वराजाको अभिव्यक्तिप्रति एमालेको आपत्ति
१ वैशाख, काठमाडौं । नेकपा (एमाले) ले पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षको पूर्वसन्ध्यामा दिएको भिडियो सन्देशप्रति आपत्ति जनाएको छ । एमाले सचिवालय बैठकले शाहको अभिव्यक्ति आपत्तिजनक रहेको निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयाे ।
‘पूर्वराजाको अभिव्यक्ति हेर्दा अझै पनि उहाँको मनमा राजतन्त्र फर्काउन सकिन्छ कि मुलुकका अहिलेका उपलब्धिहरूलाई पछाडि फर्काउन सकिन्छ कि भन्ने आशा र त्यससम्बन्धी सक्रियता जीवितै रहेको हामीले पायौं, जुन गलत हो’ ज्ञवालीले भन्नुभयाे।
एमालेले तीनकुने घटनालाई जनतामा आएको जागरण भनेर पूर्वराजाले भनेकोमा पनि आपत्ति जनाएको छ । ज्ञवालीले भन्नुभयाे, ‘तीनकुनेमा चैत १५ गते आपराधिक घटना घट्यो, त्यसलाई उहाँले जनतामा आएको जागरणको रूपमा व्यक्त गर्नुभयो। त्यसैलाई जागरण भन्ने हो भने- सर्वसाधारणका घरमा लुटपाट, सम्पत्ति तोडफोड, राजनीतिक पार्टी कार्यालयमा विध्वंश, उहाँले खोजेको जागरण त्यस्तै हो भने त्यो त धेरै आपत्तिजनक कुरा हो। यस्ता खालका कुनै क्रियाकलाप नगर्न हामीले भनेका छौं।’
प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार १५:४०