वाइड बडी खरिद प्रकरणः वायु सेवा निगमलाई टाट पल्टने अवस्थाबाट जोगाएँः मन्त्री अधिकारी
२३ पुस, काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नेपाल वायुसेवा निगमलाई टाट पल्टने अवस्थाबाट जोगाएको दाबी गरेका छन । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी अाफ्नो धारणा सार्वजनिक गर्दै मन्त्री अधिकारीले वाइड बडीमा भ्रष्टाचार नगरेको बताए । उनले आफूले निगमलाई टाट पल्टने अवस्थाबाट जोगाएको समेत दाबी गरे।
मन्त्री अधिकारीले वाइडबडी जहाज प्रकरणमा लेखा समिति अन्तर्गतको उपसमितिले अनुमान र पूर्वाग्रहको आधारमा आफ्नो नाम जोडेको आरोप लगाए । उनले विमान खरिद सम्झौता प्रक्रियामा कहीँ कतै र कुनै पनि किसिमको संलग्नता नरहेको दाबी गरे । एक घण्टा लामो पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले भने, ‘ममाथि बदनियत भएको भनी लागेको आरोपमा सबै अख्तियारवाला निकायलाई छानबिन गर्न आग्रह गर्दछु।’
दोषी उम्कन नपाउने र निर्दोष बदनाम नहुने अवस्था हुनु हुँदैन भन्दै अधिकारीले यसमा जो सुकै संलग्न भएको भए कारबाही हुनुपर्ने बताए । कांग्रेस सांसद राजन केसीको संयोजकत्वमा गठित उपसमितले ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएको ठहरसहितको प्रतिवेदन तयार गरेको थियो भने प्रतिवेदनमा मन्त्री अधिकारीसहित पूर्वमन्त्री र सचिवहरूलाइ कारबाही सिफारिस गरेको थियो ।
प्रकाशित मिति : २३ पुष २०७५, सोमबार ११:३९