१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

राजनीतिक उपलब्धिलाई रक्षा गर्दै समाजवादी अर्थव्यवस्था कार्यान्वयन जरुरीः अध्यक्ष नेपाल

१ वैशाख, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा जनअधिकारका लागि राजनीतिक उपलब्धिलाई रक्षा गर्दै समाजवादी अर्थव्यवस्था कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।

नयाँ वर्ष २०८२ को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष नेपालले जनताको लामो सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका साथै सुशासन, समृद्धि र सामाजिक न्यायमा आधारित आर्थिक रूपान्तरण गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभयो । सबै नेपालीबीच शान्ति, एकता, सद्भाव र सहिष्णुता कायम गर्दै अध्यक्ष नेपालले नयाँ वर्षले समुन्नत समाजवादी मुलुक निर्माणमा एकताबद्ध हुन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले सुशासन, समृद्धि र सामाजिक न्यायका आधारमा जनतालाई राजनीतिक परिवर्तनको प्रत्याभूति गराउनुपर्नेमा जोड दिनुभयो ।पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विरुद्ध प्रतिगामी शक्ति सक्रिय रहेकाले परिवर्तनका पक्षधर तथा लोकतान्त्रिक शक्तिबीच एकताको खाँचो औँल्याउनुभयो ।

राष्ट्रियता, जनजीविका, वैज्ञानिक समाजवादका विषयमा साझा दृष्टिकोण बनाउन राजनीतिक शक्तिहरूलाई आग्रह गर्दै उहाँले नै उत्पादन वृद्धि गरी रोजगारका अवसर सिर्जना गरी सामाजिक रूपान्तरण गर्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार १४:०३