१५ बैशाख २०८२, सोमबार | Tue Apr 29 2025

सियरा लियोनको राष्ट्रपति भवनमा आगलागी

 ३१ चैत, फ्रिटाउन । सियरा लियोनको मध्य फ्रिटाउनस्थित राष्ट्रपति भवनभित्र शनिबार आगलागी भएको प्रत्यक्षदर्शी र सरकारले बताएका छन् । आगलागीका समयमा राष्ट्रपति जुलियस माडा बायो घटनास्थलमा नभएको बताइएको छ ।

राष्ट्रपति बायो एक सम्मेलनमा भाग लिन हाल टर्की भ्रमणमा रहनुभएको छ । अग्निनियन्त्रकहरूले पाँच घण्टापछि आगो नियन्त्रणमा लिएको दमकल सेवाका एक वरिष्ठ अधिकारीले एएफपीलाई बताए ।

आगलागीबाट कोही पनि हताहत नभएको तर भवनमा रहेका कागजपत्र र फर्निचर जलेर नष्ट भएको अधिकारीहरुले बताएका छन् । स्टेट हाउसको तेस्रो र चौथो तल्लामा विस्फोट भएको र दोस्रो तल्लामा रहेको राष्ट्रपतिको कार्यालयमा भने केही नभएको सूचना मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

स्थानीय समयअनुसार अपराह्न ४ः०० बजे (स्थानीय समयअनुसार १६ः०० बजे) सुरु भएको आगलागीको कारण खुल्न नसकेको बताइएको छ ।सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोमा ठूलो सेतो भवनको माथिल्लो तलाको झ्यालमा आगोको ज्वाला र बाक्लो कालो धुवाँको मुस्लो देखिएको छ ।

स्थानीय बासिन्दा मोहम्मद कामाराले एएफपीसँग भन्नुभयो, “शनिबार साँझ भवनको झ्याल र माथिल्लो तलाबाट धुवाँ र आगो निस्केको देखिएको थियो ।” प्रहरीले भवन वरपरका सडकलाई घेराहालेर सुरक्षाकर्मी र सैनिक परिचालन गरेको थियो ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आईतवार १४:२३