नेपालले चीनको विकास र समृद्धिबाट लाभ लिनुपर्छः अध्यक्ष दाहाल
२९ चैत, काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालले चीनको विकास र समृद्धिबाट लाभ लिनुपर्ने बताउनुभएको छ । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित नेपाल–चीन आर्थिक तथा व्यापार सम्मेलनको अवसरमा उहाँले चीनले आर्थिक, सामाजिक र प्राविधिक क्षेत्रमा चमत्कारिक प्रगति हासिल गरेको गरेको र नेपालले यसबाट लाभ लिन चाहेको बताउनुभयो ।
अध्यक्ष दाहालले नेपालमा संविधानसभाबाट जननिर्वाचित प्रतिनिधिहरूले समानुपातिक, समावेशी, धर्मनिरपेक्षतासहितको समाजवादोन्मुख सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक संविधान बनाउन सफल भएको उल्लेख गर्दै अब विकासमा प्रगति गर्न सोहीअनुसारको सहयोगको अपेक्षा रहेको बताउनुभयो ।

राजनीतिक र औपचारिक रूपमा दुई देशबीच सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएपश्चात् नेपालले एक चीनप्रतिको प्रतिबद्धतालाई व्यवहारतः लागू गर्दै आएको र अहिले पनि एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । दुई देशले पारस्परिक हित, सहकार्य र समृद्धिको मार्गमा अहिलेसम्म धेरै उपलब्धिहरू हासिल गरेको भन्दै अध्यक्ष दाहालले व्यापार, पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि र जनस्तरको सम्बन्धलगायत सबै क्षेत्रमा उल्लेखनीय प्रगति भएको जिकिर गर्नुभयो ।
प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार १६:०९